बाराको अब्बल विद्यालय «

बाराको अब्बल विद्यालय

बारा – सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफू कमजोर नभएको प्रमाणित गरेको छ । उक्त विद्यालय जिल्लामै पठनपाठनमा अब्बल प्रमाणित भएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ४ वटा संकाय सञ्चालन गर्ने जिल्लाको एकमात्र सामुदायिक विद्यालय हो । विज्ञान, वाणिज्य, शिक्षा र मानविकी गरी हाल ४ वटा संकायमा पठनपाठन गराइरहेको विद्यालयमा विज्ञान संकायमा भने मध्य तराईमै नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ । छिमेकी जिल्ला रौतहट, सर्लाही, महोत्तरीलगाएतका स्थानबाट विज्ञान संकायमा विद्यार्थीहरू अध्ययनरत छन् ।
विज्ञान संकाय अध्ययन गर्न जिल्लाका विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा सिमरा माविले पठनपाठन सुरु गरेपछि भने जिल्लाका विद्यार्थीहरू लाभान्वित भएका छन् । अध्ययनका लागि अन्य जिल्लाहरूबाट राजधानी बाहिरिने विद्यार्थी केही वर्षदेखि बाराको सिमरामै अध्ययनरत छन् ।
कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत छात्रा प्रतिक्षा सिवाकोटी सर्लाहीबाट सिमरा पढ्न आएकी हुन् । उनी राजधानीका निजी स्कुलमा पाइने सेवासुविधा सरह सिमराको सामुदायिक विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला सहित अध्ययन गर्न पाउँदा खुशी छिन् ।
“काठमाडौं पढेको भए खर्च धान्नै नसक्ने हुन्थ्यो, तर यहाँ अन्य संकायजत्तिकै कम शुल्क छ । शिक्षकहरू पनि अनुभवी हुनुहुन्छ,” उनले भनिन्, “राम्रो पढाइ हुन्छ भनेर विश्वास लागेको थिएन, तर काठमाडौं भन्दा पढ्न रमाइलो र मज्जा छ ।”
विज्ञान संकायमै भर्ना हुन आएका सर्लाहीका सन्दिप सिम्खडा पनि कक्षा ११ को नतिजा उत्कृष्ट आउने आशामा छन् । कक्षा १२ मा पढ्दै गरेका उनी काडमाडौंको निजी स्कुलमा खर्च धेरै लाग्ने भएपछि यहाँ भर्ना हुन आएका हुन् । “विज्ञानका सबै सुविधा पाएका छौँ । निजी विद्यालयले लिने भर्ना शुल्कले मात्रै यहाँ आधा वर्षको शुल्क तिर्न पुग्छ,” उनले भने ।
विज्ञान संकायमा अघिल्लो वर्षको शतप्रतिशत नतिजाले विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमले बताए । जिल्लामा ८ वटा विद्यालयले विज्ञान संकाय पठनपाठनको सम्बन्धन लिए पनि प्रभावकारी व्यवस्थापन हुन नसक्दा नतिजा राम्रो दिन नसकिरहेको बताउँदै गौतमले सिमरामा भने स्थापनादेखि नै ९० प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएको दाबी गरे ।
“हामीले विज्ञान संकायमा मध्य तराईकै उत्कृष्ट नतिजा ल्याएका छौँ, शतप्रतिशत नतिजाले विद्यार्थीको चाप यस वर्ष अझ बढेको छ । हामी निजी विद्यालय भन्दा कुनै पनि कुरामा कम छैनौँ,” उनले भने । आगामी योजनामा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको समेत उनले बताए । हाल विज्ञान संकायमा कक्षा १२ मा २७ विद्यार्थीसहित कक्षा १ देखि १२ सम्म १ हजार ८ सय बढी विद्यार्थी अध्ययनरत छन् भने सीमित सिटमा कक्षा ११ मा भर्ना गरिरहेको छ ।

विद्यालयका प्राचार्य शंकर कुमार आचार्यले विद्यालयलाई आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको विकासमा कटिबद्ध रहने बताएका छन् । अहिले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थाहरू भर्ना हुने क्रम जारी रहेको भन्दै स्तरिय पठनपाठनका कारण निजी विद्यालयमा एसइइ उत्तीर्ण गरेका अधिक विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना हुन आएका आचार्यले जानकारी दिए ।
विद्यालयमा सांकेतिक भाषाका विद्यार्थीहरू समेत अध्ययनरत छन् । राज्यले देशका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने नीतिअनुरुप विद्यायलयले सबैखाले सुविधा दिइरहेको विद्यालयका सहप्राचार्य अच्युतदेव सिटौलाले बताए ।

नमुना विद्यालयमा छनोट
जितपुर सिमरा उपमहानगरपालिका सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जिल्लाको नमुना विद्यालयमा छनोट भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले नमुना विद्यालय छनोटका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयहरूलाई जारी गरेको पत्रअनुसार उक्त विद्यालय नमुना विद्यालयमा छनोट हुन सफल भएको हो ।
विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलापलगायत अन्य पक्षहरूका अधारमा विद्यालय नमुनामा छनोट भएको हो । वि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो विद्यालयले २०२८ सालमा निमाविको पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्ममिक तह कक्षा ९ र १० पठनपाठन सुरु गरेको थियो । २०५४ सालमा उमाविको सम्बन्धन ल्याउन सफल भएको सो विद्यालयले हाल नेपाल सरकारको परिमार्जित शैक्षिक नीतिलाई समेत अबलम्बन गरी माध्यमिक तहअन्तर्गत कक्षा १ देखी १२ सम्मको पठनपाठन गराइरहेको छ ।
२०६८ सालदेखि नै अंगेजी माध्यमबाट कक्षा संचालन गर्न सुरु गरेको विद्यालयले हाल कक्षा १ देखि १२ सम्म नै अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइरहेको छ । स्थापना कालदेखि नै स्तरीय पठनपाठन र मर्यादित परीक्षामा नाम स्थापित गराउन सफल विद्यालयमा हाल कक्षा १ देखि १२ कक्षामा १ हजार ८ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्