आठबिसकोटमा २५ शैय्याको अस्पताल «

आठबिसकोटमा २५ शैय्याको अस्पताल

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २५ शैय्याको अस्पताल सञ्चालनमा आएको छ । आठबिसकोट नगरपालिकाको २५ शैय्याको अस्पताल पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा शर्माले अबको समयमा नगरपालिका र जिल्लाले आम जनता तथा बालबालिकाको उज्वल भविष्यका लागि शिक्षामा र जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनकै लागि विशेष जोड दिनुपर्ने बताए । आठबिसकोट नगर अस्पतालले गत आइतबारबाट विभिन्न सेवासमेत सुरु गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा नगरपालिकामार्फत् २५ शैय्यासम्मको अस्पताल संचालन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार अस्पताल संचालनमा ल्याएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनका अनुसार नगरपालिकाले हालसम्म अस्पताल संचालनका लागि एक करोड बढी रकम खर्च गरिसकेको छ ।
अस्पताल स्थापना गरेको नगरपालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर उपलब्ध गराएको छ । अस्पतालमा रेडियोग्राफी, ल्याब टेक्निसियन, असिस्टेन्ट, अनमी, स्वास्थ्य सहायक, अहेबलगायत स्वास्थ्यकर्मी भर्ना गरिएको छ । अस्पताल सम्बन्धी कार्याविधिअनुसार अन्तरंग, बहिरंगका साथै डिजिटल एक्सरे, अल्ट्रा साउन्ड र ईसीजीलगायत सेवा छन् । यसअघि उपचारको लागि जिल्ला अस्पताल तथा जिल्ला बाहिर जाने गरेका स्थानीय गाउँमै अस्पताल संचालनमा आएपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्