छ्याङ इन क्यान «

छ्याङ इन क्यान

नेपाली समाजमा परम्परादेखि नै विभिन्न पर्व तथा खुसीका क्षणमा छ्याङ प्रयोगमा आउने गरेको छ । बियरदेखि अन्य पेय पदार्थ क्यानमा उपलब्ध हुँदै आएकोमा अबदेखि नेपाली बजारमा छ्याङसमेत क्यानमा ल्याइएकाले यसको नाम छ्याङ इन क्यान राखिएको छ । यसलाई एसियन स्वाद कम्पनीले आयात गरी उपलब्ध गराएको हो । दक्षिण कोरियाको वालमाई र वरिसुल नामक कम्पनीद्वारा उत्पादित छ्याङ नेपाली स्वादसँग ठ्याककै मिल्ने कम्पनीको दाबी छ ।
कोरियाली भाषामा छ्याङलाई मक्यौली नामले चिनिने गरिन्छ भने नेपाल र कोरियासहित चीनमा समेत अत्यधिक मन पराइने गर्छ । कम्पनीले यसअघि कोरियाली प्रख्यात पेय सोजो आयात गरी नेपाली मदिरा पारखीबीच ल्याउन सफल भएको थियो भने छ्याङ पेट बोतलमा मात्र उपलब्ध गराइएको थियो ।
काठमाडौं उपत्यका बाहेक नेपालको दोस्रो व्यावसायिक सहर पोखराका नेपालीहरूले समेत छ्याङको स्वाद लिई दसैं मनाउन पाउने कम्पनीले जनाएको छ । नेपालभित्र चामल तथा खाद्यान्न प्रयोग भई मदिराजन्य वस्तुको व्यावसायिक उत्पादनमा सरकारले प्रतिबन्ध लगाएको छ । यसबाट युवा वर्गमा नेपाली संस्कृति र परम्परा भित्रै प्रयोग हुने छ्याङलाई बिर्सिन थालिएको छ । यस कारणले समेत छ्याङको पुन्ह बजार प्रवेश आवश्यक भएको कम्पनीले जनाएको छ । उच्च मध्यमवर्गीय लक्षित यो छ्याङ सात सय ५० मिलि पेट बोतल ३ सय ५० मिलि क्यानको २ सय २० रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ । यसअघि पेट बोतलमा ल्याइएको छ्याङ चालू आवको ६ महिनाभित्र २० हजार लिटर खपत भएको कम्पनी स्रोतले बताएको छ । तर, गर्भवती महिला र १८ वर्षभन्दा मुनिका बालबालिकाले भने प्रयोग गर्न नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्