‘सहकारी र निजी एउटै क्षेत्र भन्ने व्याख्या गलत’ «

‘सहकारी र निजी एउटै क्षेत्र भन्ने व्याख्या गलत’

“सहकारी र निजीको एउटै व्याख्या र व्यवहार गरे सहकारीको विलय हुन्छ ।”

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सहकारी र निजी एउटै क्षेत्र हो भन्ने व्याख्या गलत भएको बताएका छन् । नेपालको संघीय संविधानले राज्यको आधारस्तम्भका रुपमा सरकारीसँगै सहकारी र निजी क्षेत्रलाई स्वीकार गरेको र सबैको अलग अलग महत्व र भूमिका रहेको उनको भनाइ थियो ।
“सहकारी र निजी एउटै क्षेत्र हो भन्ने ब्याख्या पनि सुनिएको छ,” कोटेश्वरस्थिर सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, “सहकारी र निजीको एउटै व्याख्या र व्यवहार गरे सहकारीको विलय हुन्छ ।” स–सानो पुँजी तथा सिपलाई एकीकृत गर्दै आर्थिक विकासका लागि सहकारीमार्फत परिचालन गर्न सकिने र यही महत्वलाई बोध गर्दै छुट्टै स्थान दिइएको उनले दाबी गरे ।
नेपालको सहकारी अभियानमा महिलाको सहभागिता सुन्दर पक्ष रहेको भन्दै नेपालले महिलाको सहभागिताले सहकारी संस्थालाई बलियो र व्यवस्थित बनाएको समेत बताए । संघीय व्यवस्थाअनुसार सहकारीको अधिकार स्थानीय तहसम्म गएकाले अब तल्लो तहबाटै सहकारी अभियान व्यवस्थित हुने समेत उनले उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वनिर्देशक कृष्णप्रसाद दाहालले सहकारी आन्दोलन समाज विकासको आधार भएको बताए । “नेपालमा सामाजिक सद्भाव कायम गर्दै सामुदायिक विकासका लागि सहकारी अभियानको विकल्प छैन,” उनले भने ।
संस्थाकी अध्यक्ष चित्राकुमारी सुब्बाले संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहने बताइन् । सहकारीमा आबद्ध नभएको व्यक्तिभन्दा सहकारीमा आबद्ध भएको व्यक्तिको आर्थिक अवस्था तुलतात्मक रुपमा राम्रो भएको अध्ययनबाट पुष्टि भएको भन्दै उनले नेपालको गरिवी निवारण, आर्थिक तथा सामाजिक विकास, पिछडिएका वर्ग र जातीको उत्थानमा सहकारीले काम गर्न सक्ने उल्लेख गरिन् ।
१ करोड ३४ लाख ९३ हजार सेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षमा १३ करोड बचत संकलन तथा १२ करोड ४० लाख ऋण लगानीबाट ४६ लाख ५१ हजार नाफा गरेको सभामा जानकारी दिइयो । गत आवमै संस्थाले कोटश्वरमा आफ्नै भवन निर्माण गरी कारोबारसमेत सुरु गरेको छ । संस्थाले बचत तथा ऋण, रेमिट्यान्स सेवाका साथै सदस्यहरूलाई विभिन्न स्वरोजगारमूलक तालिम प्रदान गर्नुका साथै सामाजिक काम समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्