एआईले २३ लाख रोजगारी थप्ने «

एआईले २३ लाख रोजगारी थप्ने

वासिङ्टन: कृत्रिम बौद्धिकता अर्थात् एआईले विश्वव्यापी रूपमा २३ लाख रोजगारी सिर्जना गर्ने र आगामी २०२० सम्मको अवधिमा सकारात्मक रोजगारी प्रेरक हुने गार्टनरले जनाएको छ ।

“२०१९ सम्मको अवधिमा एआईले आफूले सिर्जना गर्ने रोजगारीको तुलनामा बढी रोजगारी खोस्नेछ । यद्यपि २०२० मा एआईका कारण सिर्जना हुने रोजगारी गुमेको रोजगारी पूर्ति गर्नका लागि पर्याप्त हुनेछ,” अमेरिकास्थित कम्पनीले जनाएको छ । एआईले २०१९ सम्ममा १८ लाखको हाराहारीमा रोजगारी खोस्ने गार्टनरको प्रक्षेपण छ ।

“उद्योगका आधारमा रोजगारी सिर्जना हुने र गुम्ने विषयमा भिन्नता आउनेछ । केही उद्योगले समग्रमा रोजगारी गुमेका पाउनेछन् भने केही उद्योगले केही वर्षका लागि मात्रै रोजगारी गुमेको पाउनेछन् । तर, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रले कहिले पनि रोजगारी गुमेको अवस्था पाउने छैनन्,” गार्टनरको प्रक्षेपण छ ।

एआई भनेको मेसिनको माध्यमबाट मानवीय बौद्धिकता–प्रक्रियाको नक्कल हो । यो पनि विशेष गरी कम्प्युटर प्रणालीबाट । यो प्रक्रियामा सिकाइ, तर्क र स्व–सच्याउने कुरालाई समावेश गरिएको छ ।

“एआईले कतिपय रोजगारीको उत्पादकत्व प्रयोग भएका सिर्जनात्मक काममा सुधार ल्याउँछ । यसले मानिसको करियरमा सुधार ल्याउँछ, पुराना कामलाई सुधार गर्छ र नयाँ उद्योगको सिर्जना गर्छ,” गार्टनरको तर्क छ ।

“धेरै संगठनको क्षमताभन्दा पनि प्रविधि आधारित आविष्कार तीव्र दरमा वृद्धि भइरहेको छ । एउटा आविष्कार कार्यान्वयन गर्नुपूर्व अन्य दुई आइसकेका हुनेछन्,” गार्टनरका उपाध्यक्ष डारिल प्मरले बताए ।

श्रव्य, दृश्य र आवाजलाई सहयोग गर्नका लागि सुरुमा स्वीकार गरिएका ब्रान्डहरूले डिजिटल व्यापारिक आम्दानीलाई आगामी २०२१ सम्मको अवधिमा ३० प्रतिशतले वृद्धि गराउनेछ ।

“नयाँ चिज गर्दा अलिबाबा, अमेजन, एप्पल, बैदु, फेसबुक, गुगल, माइक्रोसफ्ट र टेनसेन्टजस्ता ठूला डिजिटल कम्पनीहरू एआईमा चल्नेछन्,” गार्टनरले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्