म्याग्दी खोला हाइड्रोपावरको पीपीए

हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइड्रोपावरको बिजुली खरिद बिक्री (पीपीए)गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंग र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरे । म्याग्दी जिल्लामा बन्ने ५७.३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुने भएको छ । परियोजनाले सन् २०२३ मा विद्युत्को ब्यावसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ । “जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिबद्ध छौं,” आयोजनाका अध्यक्ष थापाले भने ।
परियोजनाका प्रबन्ध निर्देशक सुशील पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष वैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ । “अहिले हामी परियोजनालाई जोड्ने २४ किमि लामो पहुँच मार्ग निर्माणको तयारी गरिरहेका छौं,” पोखरेलले भने, “आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत् उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।”
परियोजनाले जारी गरेको विज्ञप्तिअनुसार यस आयोजनाले सुख्खा याममा १०३.११ गिगावाट आवर र वर्षामा २३२.८८ गिगावाट आवर गरी वार्षिक औसत ३३५.९९ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । उत्पादित बिजुली प्राधिकरणले वर्षातमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा खरिद गर्नेछ ।
धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित बिजुली आयोजनास्थलदेखि १७ किमि दूरीमा प्राधिकरणले निर्माण गर्ने कालिगण्डकी करिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।