जन्म र मृत्यु दर्तामा प्रोत्साहन भत्ता «

जन्म र मृत्यु दर्तामा प्रोत्साहन भत्ता

जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो ।

इलाम-इलामका केही स्थानीय तहले जन्म र मृत्यु दर्तामा समेत पैसा दिने निर्णय गरेका छन् । देउमाई नगरपालिकाले पालनपोषण र दाहसत्कार खर्च उपलब्ध गराउँछ भने फाकफोकथुम गाउँपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउन भन्दै रकम दिने निर्णय गरेको छ ।
व्यक्तिगत घटना दर्तामा सहयोग पु-याउने उद्देश्यले गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । उसले जन्म दर्ता गराउँदा तीन हजार र मृत्युदर्ता गराउँदा ५ हजार दिने निर्णय गरेको हो । पाउँपालिकाको दोस्रो गाउँसभाले नवजात शिशुको जन्मदर्ता र अन्य कसैको मृत्यु भएमा मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको हो ।
व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
गाउँपालिकाले व्यक्तिगत घटनाअन्तर्गत प्रसुति स्याहार भत्ता ३ हजार रुपैयाँ र मृतक परिवारलाई पाँच हजार रूपैयाँ उपलब्ध गराउने भएको हो । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । यो प्रक्रिया चालू आवदेखि नै लागू भएको छ ।
यस्तैगरी बिरामी र दीर्घ रोगीहरूलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ । क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिँडडुल गर्न नसक्ने, दुर्घटनामा परी अंगभंग भएका तथा आगलागीमा परी अपांगता भएका व्यक्तिलाई वार्षिक २० हजार रूपैयाँ र अन्य दीर्घरोगीहरूलाई वार्षिक पाँच हजार रूपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने बताइएको छ ।
सम्बन्धित वडाको सिफारिसका आधारमा प्रोत्साहन रकम तथा उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको यो निर्णयप्रति फाकफोकथुमबासी हर्षित भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
यता देउमाई नगरपालिकाले गत वर्षदेखि नै जन्म र मृत्युमा रकम उपलब्ध गराउँदै आएको थियो । शिशु जन्मिँदा स्याहारका लागि र मृत्युमा अन्त्येष्टिका लागि पाँच-पाँच हजार दिइने नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले जानकारी दिए । उनले यो निर्णय गत वर्षदेखि नै कार्यान्वयन भएको समेत बताए । यस वर्षदेखि नगरपालिकाले एकल पुरुषलाई समेत मासिक भत्ता उपलब्ध गराउने उनले जानकारी दिए । यसअघि नै सरकारले एकल महिलालाई मासिक भत्ता उपलब्ध गराउँदै आएको थियो । तर, नगरपालिकाले नयाँ निर्णय गर्दै एकल पुरुषलाई समेत मासिक भत्ता उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्