उद्योग व्यवसाय फस्टाउन सही आर्थिक नीति आवश्यक : राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा उद्योग व्यवसाय फस्टाउन सही आर्थिक नीति आवश्यक रहेको बताएकी छिन् । हेटौंडामा शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५१औं वार्षिक साधारणसभा उद्घाटन गर्दै महासंघकी अध्यक्ष राणाले अब राजनीतिक संक्रमणकालको अन्त्य भएकाले आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने भन्दै यसका लागि सही आर्थिक नीति आवश्यक रहेको बताइन् ।
उद्योगी व्यवसायीहरूलाई सरकारी संयन्त्रले हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै उनले अनुगमनका नाममा दुःख दिने काम बन्द नभए उद्योग व्यवसाय फष्टाउन नसक्ने बताए । सरकारको काम अनुगमन गर्ने भए पनि अनावश्यक दुःख दिने काम बन्द गर्नुपर्ने उनको भनाइ थियो । “अनुगमन गर्नै हुँदैन भन्ने पक्षमा हामी छैनौं, तर कहिले वाणिज्य, कहिले राजस्व, कहिले सशस्त्र प्रहरी त कहिले नेपाल प्रहरीले अनुगमन गरेर दुःख दिने काम गरिरहेको छ ।” उनले भनिन्, “यस्तो दुःख दिएपछि उद्योग व्यवसाय कसरी फस्टाउँछ ?”
उनले देश संघीयतामा गएको अवस्थामा कर प्रणाली, राजस्व बाँडफाँड र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिइन् । नयाँ संरचनाअनुसार प्रादेशिक तह बलियो हुने भएकाले व्यावसायिक हित र समस्याका विषयमा प्रादेशिक तहबाट समाधान खोजिनुपर्नेमा जोड दिँदै महासंघ यसका लागि तयार रहेको बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, महासंघ महिला उद्यमी समिति सभापति कमला श्रेष्ठलगायतले बदलिँदो संरचनाअनुसारको आर्थिक नीति स्पष्ट गरी आर्थिक समृद्धिको गन्तव्यतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, संघका पूर्वअध्यक्ष माधव रिसाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इं, सदस्यहरूको तर्फबाट यम सिल्वाललगायतले राज्य संयन्त्र र नीति क्षेत्रको समन्वयबाट मात्रै अबको आर्थिक समृद्धिको गन्तव्य सम्भव रहेको भन्दै यसतर्फ सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
नयाँ नेतृत्वका लागि दुई प्यानल
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यालन बनाएर व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्वमा वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र महासचिव महेन्द्र राउत आ–आप्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । ३ वर्षे कार्यकालका लागि हुने निर्वाचनमा २ हजार ३ सय २८ व्यवसायी मतदाताले मतदान गर्ने छन् ।
रुपेश दुलाल