यान्त्रिक पुल मुनाफामा «

यान्त्रिक पुल मुनाफामा

पर्वत-पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने कुस्मा–बलेवा यान्त्रिक पुलले गत आवमा २२ प्रतिशत मुनाफा सेयर धनीलाई वितरण गर्ने भएको छ ।
कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडको शनिबार सम्पन्न सातांै साधारण सभाले आव ०७४÷७५ का लागि २२ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृत गरेको हो । कम्पनीले सञ्चालन भएको छैठौं वर्षसम्म लगानी कर्तालाई १ सय ९ प्रतिशत मुनाफा वितरण गर्दैछ ।
लिमिटेडले अघिल्लो आर्थिक वर्षमा १८ प्रतिशत मुनाफा वितरण गरेकोमा गत आवमा २२ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृत दिएको कम्पनीले जनाएको छ ।
“यस वर्ष लगानीकर्तालाई २२ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ,” लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । साधारणसभाले बलेवा क्षेत्रमा रहेको कम्पनीको जग्गामा पर्यटकीय पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षदेखि मुनाफाको ५० प्रतिशत लगानी गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।
यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित ब्यवसायीदेखि कुस्मा र बलेवा क्षेत्रका गरी ४६३ जना सर्वसाधारणले लगानी गरेका छन् । यान्त्रिक पुल २०६९ फागुन २१ बाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यान्त्रिक पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दासँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सञ्चालक सदस्य तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
अध्यक्षमा पुनः श्रेष्ठ
कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडको दोस्रो अधिवेशनबाट पुनः होमनारायण श्रेष्ठको अध्यक्षतामा पाँच वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । सञ्चालक समितिमा केदारनाथ शर्मा, हरिओम शर्मा लामिछाने, रामकृष्ण कर्माचार्य, लक्ष्मीकान्त आचार्य, गोपी अधिकारी, हिमबहादुर पौडेल, कमलकुमार जिसी, लक्ष्मीनारायण श्रेष्ठ, इश्वर गिरि, शैलेन्द्र कर्माचार्य र निर्मला जिसी पन्त निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्