अचारबाटै मासिक ५० हजार «

अचारबाटै मासिक ५० हजार

झापा-झापा अर्जुनधारा नगरपालिकाका–९ का दिनानाथ शिवाकोटीले अचार व्यवसायबाटै मासिक ५० हजार आम्दानी गर्छन् । उनले यो व्यवसाय थालेको एकदशक भयो ।
स्थानीय कृषिउपज प्रयोग गरेर उनले अचार बनाउँछन् । त्यही सोचसहित १० लाखको लागतमा उनले शिवबाबा अचार, जुस उद्योग सुरु गरेको सुनाए । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाएका शिवाकोटीले एकल लगानीमा अचार उद्योग सञ्चालमा ल्याएका हुन् ।
बिर्तामोडको कृषिथोक बजारमा २०४२ सालदेखि फलफूल पसल गरेका शिवाकोटी त्यही पेसामा २० वर्ष जमे । दुईपटक फलफूल एसोसियसन महासंघ केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनले अचार व्यवसाय राम्रै आम्दानीको स्रोत भएको बताए । पढेर होइन, परेर यो स्थानसम्म आइपुगेको सुनाउने शिवाकोटी यतिबेला सफल उद्योगी बनेका छन् । विदेशी भूमिलाई आम्दानीको स्रोत मान्नेका लागि शिवाकोटी उदाहरण हुन् ।
उद्योगमा १६ प्रकारका अचार उत्पादन गरिन्छ । उत्पादित अचार पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका पोखरा, काठमाडौंलगायतका बजारमा पु¥याउने गरेको उनी बताउँछन् । उनले भने, “अचार उत्पादन गरेर व्यावसायिक बन्नुमात्र मेरो उद्देश्य होइन, राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय रूपमै पहिचान बनाउनु हो ।” उत्पादित अचारलाई विश्व बजारमा पु¥याउने लक्ष्य उनले राखेका छन् । “परीक्षणका लागि अहिले मेरो उत्पादन अमेरिका पुगेको छ, शिवाकोटीले भने, “त्यहाँबाट पनि प्रतिक्रिया राम्रो पाएको छु ।” अहिले आफ्नो व्यवसाय फराकिलो भएको उनले बताए । उनी भन्छन्, “बजारमा जाँदा ग्राहकबाट आउने प्रतिक्रियाले अझ हौसला मिलेको छ ।”
बजार व्यवस्थापनमा शिवाकोटी आफैँ खट्छन् । अचार उत्पादन गरेरै सफल व्यवसायीको रूपमा आफ्नो परिचय बनाउन सफल भएको शिवाकोटीले बताए । उनले भने, “व्यवसाय सुरु गरेको केही वर्ष गाह्रो भयो, अहिले कुनै समस्या छैन ।” नेपालमा खोलिएका अधिकांश उद्योगले विदेशी कच्चापदार्थ प्रयोग गर्ने गरेका कारण नेपाली उल्पादनले बजार गाह्रो पर्छ । शिवबाबाले नेपाली कच्चापदार्थको मात्रै प्रयोग गर्ने गरेको सुनाए ।
अकबरे खुर्सानीबाट मात्र ६ प्रकारका अचार उत्पादन गरिन्छ । अकबरे दाना, अकबरे मसला, अकबरेमा टिम्मुर र लसुन मिक्स, अकबरेमा कागती मिक्स, अकबरेमा आँप मिक्स र अकबरेमा तामा मिक्स । किवी, जलपाई, आँप, तामाको अचार शिवाकोटीले उत्पादन गर्दै आएका छन् । नेपालमै पहिलो पटक स्याउको अचार बनाएर बजारमा पु¥याउन आफू सफल भएको उनको दाबी छ । शिवबाबाको उत्पादन १८ महिनासम्म प्रयोग गर्न स्वस्थ्कर मानिन्छ । अचार उत्पादन गर्न मनाङ, मुस्ताङ, लमजुङदेखि स्याउ ल्याउने गरेको शिवाकोटीले सुनाए ।
शिवाकोटीको मिहिनेत देखेर यतिबेला उनलाई वडा कार्यालय र सहकारी संस्थाले अचार बनाउने तालिमको प्रशिक्षक रूपमा बोलाउने गरेका छन् । आफूले मात्र होइन, थप आठ जनालाई उनले रोजगारी पनि दिएका छन् । उनी भन्छन्, “मेरो व्यवसायले मलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेको छ ।” काममा कुनै जोखिम नरहेको उनले सुनाए । तर, अकबरे र अमिलो अचाउँदा सावधानी अपनाउनु पर्ने त छदैँछ । व्यवासयबाटै आफ्नो ६ जनाको परिवार राम्रोसँग चलाउन सफल भएको उनी सुनाउँछन् । बजारमा अचारको माग दिनानुदिन बढ्दै गएको शिवाकोटीको तर्क छ ।
व्यवसायमा सफलता प्राप्त गर्नु छ भने राम्रो सोचेर काममा लगनशील भएर लाग्नु पर्ने उनी बताउँछन् । उत्पादित अचारलाई ठूलो बजारमा बिक्री गर्न ढुवानीका लागि लाग्ने खर्चले गर्दा आफूजस्ता उद्योगीलाई व्यवसाय गर्न केही समस्या रहेको उनले बताए । उनले भने, “बजारको माग कस्तो छ, र आजको पुस्ताले कस्तो उत्पादनलाई प्रोत्साहन गर्छ भनेर मैले १० वर्ष बजारमा गएर बुझेको छु ।”
अचारले खानाको स्वादलाई जसरी बदलिदिन्छ त्यसैगरी शिवकोटीको जीवनस्तर पनि परिवर्तन गरिदिएको छ । सरकारी तहबाटै यस प्रकारका उद्योगलाई प्रोत्साहन गर्न सके नेपालमै लगानी गरेर राम्रो आम्दानी गर्ने सम्भावना नजिकिन्छ । साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारी नीति छ । तर, गाउँघरमा खुलेका उद्योग सञ्चालनमा सरोकारवालाको ध्यान अझै जान सकेको छैन ।
-मनीषा चम्लागाईं

प्रतिक्रिया दिनुहोस्