महँगी बढ्दै «

महँगी बढ्दै

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५ प्रतिशत र हिमालमा २.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.३ प्रतिशत रहेको भन्दै राष्ट्र बैकले खाद्य तथा पेयपदार्थ समूहको मूल्यमा वृद्धि भएको कारण समग्र मुद्रास्फीति बढ्न गएको जनाएको छ ।
यस्तै, खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १.० प्रतिशतले ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा मूलतः तरकारी, सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा खाद्यजन्य पदार्थलगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको पनि बैंकले जनाएको छ ।
यसैगरी साउनमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२ प्रतिशत छ । अघिल्लो साउनमा उक्त मुद्रास्फीति ४.९ प्रतिशत थियो । यो समूहअन्तर्गत यातायात, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण, विविध वस्तु तथा सेवा लगायतका उपसमूहका वस्तु तथा सेवाहरूको मूल्य अघिल्लो वर्षको तुलनामा वृद्धि भएकाले समीक्षा अवधिमा समग्र गैरखाद्य तथा सेवा मुद्रास्फीतिमा वृद्धि भएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५ प्रतिशत र हिमालमा २.७ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो साउनमा यस्तो मुद्रास्फीति पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, काठमाडौं उपत्यकामा १.३ प्रतिशत र हिमालमा ५.६ प्रतिशत थियो ।
नेपालमा मूल्य बढ्नुमा भारतीबाट आयातीय मूल्यवृद्धि पनि रहेका कारण साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको ३.७ प्रतिशत रहेको छ । फलस्वरुप, यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत थियो ।
यस्तै, साउन मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो । दोस्रो थोक मूल्य सर्वेक्षण बमोजिम आर्थिक वर्ष २०७४-७५ लाई आधार वर्ष मानी २४ वटा बजार केन्द्रहरूबाट छनौट गरिएका २६२ वस्तुहरू समावेश गरिएको परिवर्तित वस्तु डालो तथा भारका आधारमा थोक मूल्य सूचकांक प्रकाशन गर्न प्रारम्भ गरिएको पनि राष्ट्र बैंकले जनाएको छ । साउनमा पेट्रोलियम पदार्थ, धातुका आधारभूत वस्तुहरू, कपडा, फर्निचर, आदि वस्तुहरूमा भएको मूल्यवृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।
बृहत्आर्थिक वर्गीकरण अनुसार साउनमा मध्यस्थ वस्तुहरू, उपभोग्य वस्तुहरू र पूँजीगत वस्तुहरूको थोक मुद्रास्फीति क्रमशः ८.३ प्रतिशत, ४.६ प्रतिशत र २.२ प्रतिशत रहेको छ । त्यसैगरी, निर्माण सामग्रीहरूको थोक मुद्रास्फीति १४.६ प्रतिशत रहेको छ ।
मूल्यवृद्धि सँगसँगै राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक पनि बढेको राष्ट्र बैंकले जनाएको छ । साउनमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ७.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा उक्त सूचकांक ५.६ प्रतिशतले वृद्धि भएको थियो साथै यस साउनमा तलब सूचकांकमा ६.६ प्रतिशत र ज्यालादर सूचकांकमा ७.६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्