सामाजिक सञ्जालले बढायो : कावा मुख्यमन्त्री गुरुङ «

सामाजिक सञ्जालले बढायो : कावा मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले सामाजिक सञ्जालले सामाजिक अपराधका घटना बढाएको बताएका छन् । शुक्रबार पोखरामा मीना सृजनशिल समावेशी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार खेल सारु मगरलाई पुरस्कृत गर्दै कावा मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालहरुमा जसले जे मन लाग्यो, त्यही विषयवस्तु राख्नाले समाजमा हाल अपराधका घटनाहरु बढाएको बताएका हुन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कावा मुख्यमन्त्री गुुरुङले भने, “सामाजिक सञ्जालहरुमा हिजोआज नकारात्मक ढंगले टिकाटिपणी भइरहेको छ, एउटा कोठामा बसेर पनि व्यक्तिले सामाजिक अपराधका घटनाहरु नकारात्मक ढंगले नियाल्दै जादाँ सामाजिक सञ्जालबाट सामाजिक अपराधका घटनाहरुले प्रश्रय पाएको छ । ” सामाजिक सञ्जालमा हामीलाई जे मन लाग्यो, त्यही लेखेर पोष्ट गर्दा सामाजिक अपराध हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, “नकारात्मक सोचाईको मानसिकताले हामीले विकास र समृद्धि हासिल गर्न सक्दैनौं । समाजका हरेक क्षेत्रमा सामाजिक सचेतना तथा परामर्श गर्नुपर्छ ।” गण्डकी प्रदेशमै बोक्सीको आरोपमा केहि व्यक्तिहरु अझै प्रभावित हुने गरेको उनले जनाए । नेपाली समाजमा अझै पनि सञ्चारमाध्यमप्रति विश्वास रहिरहेको अवस्थामा समाजलाई सह दिशामा निर्देश गर्न पत्रकारलाई गुरुङले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्