पर्यटन प्रवद्र्धनमा डिजिटाइजेसन «

पर्यटन प्रवद्र्धनमा डिजिटाइजेसन

पर्यटक भनेका पश्चिमा देशबाट आउने मात्र हुन् भन्ने धारणा पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि बाधक बनेको छ ।

नेपालले आफ्नो पर्यटन प्रवद्र्धनका लागि परम्परागत माध्यम नै प्रभावकारी बनाउन नसकिरहेका बेला ‘डिजिटाइजेसन’को अवधारणा अघि सारिएको छ । यो यस्तो अवधारणा हो, जसले पर्यटन प्रवद्र्धनका लागि सबै किसिमका गतिविधिलाई इन्टरनेटमा उपलब्ध प्रविधिहरूसँग आबद्ध तुल्याउँछ । विश्वव्यापी रूपमै पर्यटनसँग सम्बन्धित गतिविधिहरूलाई सूचना तथा सञ्चार प्रविधिका विभिन्न उपाय र प्रविधिको प्रयोग गरेर डिजिटाइज गरिरहेका बेला नेपालमा भने विभिन्न किसिमका कानुनी र प्रशासनिक झन्झटहरू कायम छन् । विशेष गरी ड्रोनको प्रयोगका विषयमा गरिएको कडीकडाउले पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक सामग्रीहरू उत्पादनमा प्रभाव पारिरहेको छ ।
यद्यपि, कमजोर प्रचारप्रसार र प्रवद्र्धनका बीचमा पनि नेपालमा पर्यटक आगमनदर दक्षिण एसियामै उच्च छ । यही बेलामा यहाँ पर्यटकको आगमन बढेको तथ्यांक पनि सार्वजनिक भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि यहाँका सांस्कृतिक सम्पदा अवलोकन गर्ने यो उत्तम मौसम हो । इन्द्रजात्रापछि चाडपर्वले छोप्छ भन्ने भनाइ नै रहँदै आएको छ । ईन्द्रजात्रालगत्तै दसैं, तिहार, छठजस्ता ठूला चाडपर्व नेपालमा मनाइन्छन् । प्रत्येक चाडपर्वका आआफ्नै मौलिक विशेषताहरू छन् । विगतमा बडादसैंलाई नेपालको सबैभन्दा लामो पर्वका रूपमा मनाइने गरिएकोमा हाल सरकारले दसैंका बिदामा कटौती गरे पनि यसको सांस्कृतिक महत्वमा कमी भने आएको छैन । दसैंलाई पारिवारिक मिलनको पर्व मानिन्छ । त्यसैले स्वदेश वा विदेशमा रहेका जुनसुकै धर्म वा जातजातिका समुदाय भने यही बेलामा भेटघाट गर्ने, उत्सवका रूपमा मनाउने गर्छन् । फूल र बत्तीहरूको पर्व भनेर चिनिने तिहार तथा सूर्यको उपासना गरेर विशेषतः देशका तराई क्षेत्रमा मनाइने छठ पर्वले पनि यस्तै महत्व राखेका छन् । तिहारमा गाइने देउसी–भैलो हाम्रो मौलिक संस्कृति हो, चाडसँगै नाचगानको यस्ता परम्परा विश्वमा थोरैमात्र पाइन्छ, जसमा सबै जातजाति, समुदायले सहभागिता जनाउँछन् । दीपावली भारतमा पनि मनाइन्छ, तर त्यसमा र पाँचदिने तिहारको मौलिक विशेषता नै भिन्दाभिन्दै छन् ।
सेप्टेम्बरपछि मुख्य पर्यटकीय मौसम आरम्भ हुने मानिए पनि हाम्रो पर्यटन प्रवद्र्धनमा यस्ता ठूला चाडपर्वलाई आबद्ध गर्न सकिएकै छैन । अहिलेको कामकाजी विश्वमा परिवार र समुदायसँग घुलमिल गर्ने, त्यसबाट स्फूर्तिसँगै मनोरञ्जनसमेत लिन सकिने प्याकेजका रूपमा पर्यटन प्रवद्र्धन गर्ने विषयमा सरकार र निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको ध्यान पुग्न सकेको देखिँदैन । हामीकहाँ पर्यटन प्रवद्र्धनमा देखिएको मुख्य चुक भनेकै के पर्यटकीय उत्पादन हो, के होइन भन्ने विषयमा अहिलेसम्म पर्यटन सरोकारवालाहरूमा स्पष्ट सोच नै छैन । यति साँचो अर्थमा पर्यटन विकास गर्ने हो भने सधंैभरि हिमाल देखाएर, खुम्चिँदै गएका पदयात्रा मार्गमा हिँडाएर, तीन वर्षसम्म पुनर्निर्माण हुन नसकेका उपत्यकाका खण्डहर भइसकेका सम्पदा क्षेत्र देखाएर पर्यटक नेपाल आइरहन्छन् भन्ने भ्रमबाट मुक्त हुन सक्नुपर्छ ।
पछिल्लो समयमा विश्व पर्यटन बजारमा पर्यटकहरू कृत्रिम रूपमा विकसित गरिएको होइन, प्राकृतिक रूपमा जे छ त्यही (टुरिजम एज इट इज) को अवधारणा विकसित हुँदै गइरहेको छ । नेपालमा भने प्राकृतिक स्वरूप र सांस्कृतिक सम्पदालाई बिगारेर पर्यटन उत्पादनको बजारीकरण गरिरहेका छौं । पर्यटक भनेका पश्चिमा देशबाट आउने मात्र हुन् भन्ने धारणा पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि बाधक बनेको छ । क्षेत्रीय पर्यटकहरूलाई मात्र प्याकेज दिएर नेपालमा बढीभन्दा बढी ल्याउन सकियो र उनीहरूको बसाइ अवधि बढाउन सकियो भने पनि सरकारले राखेको सन् २०२० भित्रमा २० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्