कम्पनी नयाँ, प्रडक्ट पुरानै «

कम्पनी नयाँ, प्रडक्ट पुरानै

नेपालमा बिमाको पहुँच बढाउने उद्देश्यले सरकारले नयाँ जीवन बिमा कम्पनीहरूलाई सञ्चालन अनुमति दिएको छ । बिमा समितिबाट व्यवसाय सञ्चालनको अन्तिम स्वीकृति लिएका नयाँ ९ जीवन बिमा कम्पनीले औपचारिक सुरुवात पनि गरिसकेका छन् । तर, समितिले अपेक्षा गरेअनुसार कम्पनीहरूले भने नयाँ प्रडक्ट ल्याउन सकेका छैनन् ।
नयाँ ९ जीवन बिमा कम्पनीमध्ये अधिकांश कम्पनीले विभिन्न खालका बिमा योजना निर्माण गरी समितिबाट स्वीकृतिसमेत लिइसकेका छन् । चालू आवको पहिलो तीन महिनाको अवधिमा कम्पनीहरूले ३ हजार ३ सय ३९ बिमा योजना जारी गरिसकेका छन् । त्यस्तै सो अवधिमा कम्पनीहरूले ४ करोड ७१ लाख रुपैयाँ बिमाशुल्कसमेत संकलन गरेका छन् । तर, सञ्चालनमा ल्याइएका अधिकांश बिमा योजनाहरू भने पुरानै ढाँचाका छन् । बिमा योजनाका नाम नयाँ भए पनि तिनको प्रकृति भने पुरानै छ ।
नेपालको बिमा बजार भारतीय बिमा बजारबाट प्रभावित छ । नेपालमा नेपाली कम्पनीहरूले बिमा व्यवसाय सुरु गर्नुभन्दा पहिला नै भारतीय बिमा कम्पनीहरूको बर्चश्व थियो । त्यसैले पनि नेपाली बिमा योजनाहरू भारतीय बिमा योजनाकै नक्कल हुन् । तर, नेपालको भौगोलिक परिवेश, संस्कृति, मानिसहरूको आम्दानी स्तर, जोखिम फरक हुने भएकाले सोहीअनुसार बिमा योजना निर्माण गर्न समितिले कम्पनीहरूलाई सुझाएको छ । यद्यपि कम्पनीहरूले भने पुरानै प्रडक्टलाई नयाँ खोल मात्रै लगाएको देखिन्छ ।
जीवन बिमा कम्पनीहरूले जारी गर्ने मुख्य योजना भनेको सावधिक, आजीवन र म्यादी जीवन बिमा हो । कम्पनीहरूले मुख्य गरी यही योजनालाई आधार बनाएर केही सुविधा गरी नयाँ योजना निर्माण गर्छन् । उसो त बजारमा ६० प्रतिशत हिस्सा आजीवन जीवन बिमा कै छ । तर, मानिसहरूको जोखिमअनुसार आजीवन र म्यादी जीवन बिमाको पनि उत्तिकै महत्व छ ।
त्यसैले केही कम्पनीहरूले सावधिक र आजीवन बिमाको प्रंकृतिलाई मिसाएर नयाँ योजना निर्माण गरेका छन् । तर, अझै पनि नेपालीको आवश्यकता अनुसारको योजना निर्माण हुन नसकेको विज्ञहरू बताउँछन् ।
नेपालको भौगोलिक परिवेशअनुसार तराई क्षेत्रमा बसोबास गर्ने मानिसको जोखिम जुन प्रकारको छ । पहाड क्षेत्रमा बस्ने मानिसहरूको जोखिम फरक खालको हुनसक्छ । त्यस्तै, हिमाली क्षेत्रमा बस्ने मानिसको जोखिम भिन्न खालको हुनसक्छ । साथै मानिसको पेसाअनुसार कृषक, व्यवसायी वा जागिरे व्यक्तिको जोखिम र आवश्यक फरक हुन सक्छन् । लिंग र उमेरअनुसार पनि जोखिम भिन्न हुन्छ । यसरी फरक खालका मानिसहरूको जोखिम र आवश्यकको पहिचान गरी कम्पनीहरूले योजना निर्माण गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । तर, कम्पनीहरूले सबै क्षेत्र, वर्ग, उमेर र पेसाका मानिसलाई एउटै योजना बिक्री गरिरहेका छन् । कम्पनीहरूले बिमा सैद्धान्तिक आधार एउटै भए पनि योजनामा थप सुविधा राखेर बिमा योजना निर्माण गर्न सक्ने उनीहरूको कथन छ ।
नयाँ कम्पनीहरूले केही फरक शैलीबाट मात्रै योजनाहरू प्रस्तुत गरिरहेका छन् तर, विद्यमान धारबाट फरक भने हुन नसकेको बताउँछन् समितिका निर्देशक राजुरमण पौडेल । समाजका धेरै क्षेत्र बिमाबाट अझै पनि अछुतो छ । त्यस्तो क्षेत्रमा प्रवेश गर्न नयाँ कम्पनीहरूले पनि प्रयास गरेनन् । “प्रहरी संगठन, शिक्षक संगठन, आर्मी संगठन जस्ता थुप्रै ठाउँ छन जहाँ नयाँ कम्पनीले काम गर्न सक्छन्,” उनले भने । यस्ता क्षेत्रलाई लक्षित गरी उपयुक्त योजना निर्माण गर्न सक्ने विमा पहुँच पनि बढ्छ र व्यवसाय पनि बढ्ने उनले बताए । त्यस्तै, कर्मचारीहरूलाई पेन्सन योजना निर्माण गरी आकर्षित गर्न सकिने जस्ता थुप्रै सम्भावना छन् । तर, यसमा कम्पनीहरूले मेहनत गर्नुपर्ने उनले बताए ।
कम्पनीहरूले ल्याएको बिमा योजनामा नयाँपन नभएको बताउँछन् बिमा विज्ञ दामोदर बस्यौला । “सबै पुराना कम्पनीकै संरचनामा आधारित छन् । नयाँ कम्पनीहरू ग्रामीणमुखी होलान् भनेको तर, खासै त्यस्तो संकेत देखिएको छैन,” उनले भने । अधिकांश नयाँ कम्पनीमा बिमा क्षेत्रको अनुभव भएको दक्ष व्यक्तिको अभाव छ । त्यसैले नयाँ सुविधा भएका योजना अहिले नै आउने सम्भावना कम रहेको उनले बताए ।
तर, बिमा विज्ञ भोजराज शर्मा भने तत्काल कम्पनीहरूले नयाँ खालका बिमा योजना निर्माण गर्न नसक्ने बताउँछन् । “भर्खर कम्पनीहरू सञ्चालनमा आउँदैन् । पहिलो चरणमा उनीहरू बजार विस्तार गर्ने रणनीतिमा छन् । केही समयमा पछि मात्रै केही इनोभेटिभ योजना आउन सक्छ,” उनले भने । कम्पनीहरू परिपक्क भएपछि नै नयाँ योजनाको सिर्जना हुन सक्ने उनले बताए । यद्यपि कम्पनीहरूलाई फरक खालको योजना निर्माण गर्न समितिले प्रेरित गरिरहेको बताए ।
उता सन् नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम भने कम्पनीहरूले भिन्न खालको योजना ल्याउनुपर्छ भन्ने मान्यता त्यति सान्दर्भिक नभएको बताउँछन् । तर, कुनै बिमा योजनामा राइडर थपेर भने ल्याउन सकिने उनले बताए ।
अनिवार्य बिमा योजनामा नै केन्द्रित कम्पनीहरू
बिमा समितिको तथ्यांकअनुसार नयाँ पाँच बिमा कम्पनीले चालू आवको पहिलो तीन महिनाको अवधिमा ३ हजार ३ सय ३९ बिमायोजना जारी गरेका छन् जसमध्ये २ हजार १ सय ३४ म्यादी जीवन बिमा छ । यसले कम्पनीहरूले कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बिमा नै केन्द्रित भएको देखिन्छ । तर, यस्ता अनिवार्य गरिएको बिमामा प्रतिस्पर्धा गर्नुभन्दा पनि नयाँ ढाँचाका बिमा योजना सञ्चालनमा प्रतिस्पर्धा गर्नुपर्ने समितिको निर्देशक पौडेलले बताए । “गाउँ–गाउँमा पनि बिमा पु¥याउनुपर्छ । गाउँमा एक माना घिउ बेचे पनि ७ सय रुपैयाँ आम्दानी हुन्छ । सोही रकमले बिमा गर्न सक्ने अवस्थाको सिर्जना कम्पनीहरूले गर्नुपर्छ,” उनले भने ।
आईएमई लाइफ इन्स्योरेन्स
समितिबाट कारोबारको स्वीकृति लिएका कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिलो हो । कम्पनीले आजीवन (सावधिक) जीवन बिमा, बाल उमंग (अग्रिम भुक्तानी सावधिक) जीवन बिमा, बाल उज्जवल (सावधिक) जीवन बिमा, आईएमई सबल (सीमित) अग्रिम भुक्तानी सावधिक जीवन बिमा, आईएमई धनबद्र्धन अग्रिम भुक्तानी जीवन बिमा, अग्रिम भुक्तानी सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ ।
रिलायबल लाइफ इन्स्योरेन्स
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले पनि रिलायबल उच्च शिक्षा जीवन बिमा, रिलायबल धनपति जीवन बिमा, रिलायबल अग्रिम भुक्तानी जीवन बिमा योजनाको सञ्चालनमा ल्याएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ज्योति म्यादी जीवन बिमा, ज्योति धन लाभ जीवन बिमा, ज्योति सुरक्षित भविष्य जीवन बिमा बिमालेख सञ्चालन गरेको छ ।
सन नेपाल लाइफ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सार्थक आजीवन बिमालेख, नविन आजीवन जीवन बिमा, सन लाइफ सावधिक जीवन बिमा, भाग्योदय जीवन बिमा, बाल समूह सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ ।
युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स सीमित भुक्तानी सावधिक जीवन बिमा, अग्रिम भुक्तानी सावधिक तथा आजीवन जीवन बिमा, सावधिक तथा आजिवन जीवन बिमा, सावधिक जीवन बिमा, बाल सावधिक जीवन बिमा योजना ल्याएको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्स
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी सिटिजन्स सावधिक जीवन बिमा र सिटिजन्स अग्रिम भुक्तानी जीवन बिमा सञ्चालनमा ल्याएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले सानिमा सरल, सानिमा धनपति र सानिमा दीर्घायू बिमा योजना सञ्चालनमा ल्याएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रिलायन्स सुमखय जीवन बिमा, रिलायन्स सावधिक जीवन बिमा, रिलायन्स दुर्घटना बिमा, रियलायन्स धन फिर्ता जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्