अब नेपाली मुग्लान पस्न पर्दैन : गृहमन्त्री थापा «

अब नेपाली मुग्लान पस्न पर्दैन : गृहमन्त्री थापा

गुल्मी-गृहमन्त्री राम बहादुरथापा ‘बादल’ले अब नेपालीहरु नेपाल छोडेर मुग्लान पस्न नपर्ने बताएका छन् । ५६ वर्षपछि आफ्नो जन्मथलो गुल्मीको मुसिकोट–४ दजाकोटमा आएका उनले आफूले २०१९ सालमा नेपाल छोडेर मुग्लान पस्न बाध्य भएको सम्झँदै अब नेपालीहरु त्यस्तै बाध्यतामा पर्ने स्थिति नआउने दाबी गरे ।
“१० वर्षको जनआन्दोलन र अन्य विभिन्न संघर्षका उपलब्धिहरुले हामीले देशमै बस्ने स्थिति सिर्जना गर्नेछौँ, तर त्यसको लागि अझै केही वर्ष भने लाग्न सक्छ,” उनले भने । उनले आफ्नो जन्मथलो मुसिकोट नगरपालिकाको विकासको निम्ति पहल गर्ने बताए । यस क्षेत्रमा आवश्यक रहेका इलाका प्रहरी कार्यालय, अन्य प्रहरी चौकी तथा ट्राफिक प्रहरीको व्यवस्था गरिने उनले आश्वासन दिए । यस क्षेत्रको खानेपानीको समस्या समाधान गर्न तथा सडक फराकिलो गर्न पनि पहल गर्ने उनले बताए । कार्यक्रममा गृहमन्त्री थापालाई नागरिक अभिनन्दन गरिएको थियो ।
अर्को एक कार्यक्रममा गृहमन्त्री थापाले कुनै पनि अपराधी उम्किन नसक्ने दाबी गरे । विश्व मुटु दिवसको अवसरमा तम्घासमा लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी र सशस्त्र प्रहरी परिवार महिला संघको सह–आयोजनामा चलेको २ दिने निःशुल्क स्वस्थ्य शिविरलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकारले शुसासन कायम गर्न भ्रष्ट, तस्कर, बलात्कारीहरुलाई कारबाही गर्न लागि परिरहेकाले सरकारलाई कसरी गिराउने भनी केही तत्वहरुबाट ठूलो षड्यन्त्र भइरहेको आरोप लगाए । “महिलाहरुको सुरक्षाको निम्ति महिलाहरु नै उठ्नुपर्छ । त्यसको निम्ति सरकार र गृह मन्त्रालयले पूरै साथ दिन्छ ।” नेपालमा ९५ प्रतिशत बलात्कारी र अन्य अपराधीहरु कानुनको कठघारामा आएको बताउँदै उनले निर्मला पन्तका हत्यारालाई पनि कानुनको कठघरामा ल्याएरै छोडिने बताए ।

प्रतिक्रिया दिनुहोस्