नेप्से परिसूचक र यसमा राजनीतिक प्रभाव «

नेप्से परिसूचक र यसमा राजनीतिक प्रभाव

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले हालै सम्पन्न संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत निकाल्दै गर्दा तथा आगामी पाँच वर्षका निम्ति स्थिर सरकारको सम्भावना देख्दै गएको छ । देश राजनीतिक स्थिरतातर्फ गएको देखिन्छ, तर पुँजीबजार भने ओरालो लागेको देखियो ।
सामान्यतया देशमा अस्थिर राजनिति हुँदा वा कुनै ठूलो राजनीतिक संकट उत्पन्न भएको खण्डमा मात्र अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्न गई पुँजीबजार पनि ओरालो लाग्न थाल्छ । हुन त अर्थशास्त्र वा वित्तका सिद्धान्तले सेयर बजारको सूचकाङ्क भनेको देशको यथार्थपरक आर्थिक अवस्था झल्काउने या मापन गर्ने औजारका रूपमा लिने गर्छ । तर, नेपालको झन्डै दुई दशक लामो इतिहास बोक्न भ्याइसकेको नेप्से सूचकाङ्क आर्थिक अवस्थाको परिदृश्य दिनुभन्दा पनि राजनीतिक घटनाक्रमलाई बढी पछ्याएको देखिन्छ ।
संघीय तथा प्रादेशिक सदस्यको निवार्चनको प्रत्यक्षतर्फको अन्तिम नतिजा आउँदै गर्दा राजनीतिक रूपले संक्रमणकालको अन्त्य हुने पक्का भयो, तर यता पुँजीबजार भने ओरालो लाग्न थाल्यो । कम्युनिस्ट सरकार आउने भएकाले लगानीकर्तामा त्रास मनोविज्ञानले काम गरेको भनी विश्लेषण हुन थाल्यो । विगतका केही राजनीतिक घटनाक्रमले सेयर बजारमा ठूलै ठेस पु¥याएको एक दुईवटा नजिरले गर्दा कुनै ठूलै राजनीतिक परिवर्तन आउन लागेको खण्डमा नेपाली लगानीकर्ताहरू केही हदमा सशंकित हुने गरेको पाइन्छ, जुन पछिल्ला केही दिनको घटनाक्रमले पनि पुस्ट्याउँछ ।
२०७४ साल पुस ३ गते नेप्से परिसूचक १५०८.२५ अंकमा बजार बन्द भएको नेप्से राजनीतिक अनिर्णयको बन्दी भएको मुलुकको सेयर बजार पनि ६.१२ प्रतिशत अर्थात् ९२.३६ अंकले गिरावट भएको देखिन्छ । २०७४ साल पुस २ गते दिनको तुलनामा ३६.९९ अंकले घटेर पुस ६ गते १४७२.१५ अंकमा भएको थियो । त्यसैगरी पुस ९ गतेको तुलनामा ५२.९० अंकले घटेर पुस १३ गतेका दिन १४१५.७८ अंकमा पुगेको थियो । कुल कारोबार संख्या २४ हजार ६ सय ५५ पुगेकोमा दोस्रो साता बढेर २७ हजार १ सय ५६ पुगेको देखिन्छ । पुसको पहिलो साता २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँबराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयर खरिद–बिक्री भएको देखिन्छ, तर दोस्रो साता २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँबराबरका ५७ लाख २५ हजार २ सय ६० कित्ता सेयर खरिद–बिक्री भएको देखिन्छ, जुन ४.०१ प्रतिशतले वृद्धि भएको हो । यो वजारमा सेयर खरिदकर्ताको चाप बढेको वा अर्को अर्थमा माग बढेको अवस्था हो । आपूर्ति पनि अधिक मात्रामा वृद्धि भएको मात्रै हो भने बजार ओरालो लाग्नु स्वाभाविक हो, तर मागअनुसार आपूर्तिले चाप थेग्न नसकेको देखिन्छ वा अझ बजारमा मूल्य गिरावट हुने त्रासले बजारमा आपूर्ति वृद्धि भई मूल्य घटेको हो भने बजारमा आर्थिकबाहेकको अरू केही बाहिरी पक्षले पनि असर गरेको मान्न सकिन्छ । यो तथ्य नेप्सेमा पनि लागू हुन्छ ।
विगतका तथ्थाङ्क हेर्ने हो भने पनि जब देशमा ठूलो राजनीतिक अस्थिरता आइलाग्छ, तब मात्र घटना घटेको दिनमा मात्र औसत रूपमा बढी मात्रामा गिरावट भएको देखिन्छ । झन्डै विगत दुई दशकको नेप्से सूचकाङ्क हेर्ने हो भने नेपालका ३३ वटा मुख्य राजनीतिक घटनाक्रमले नेप्सेलाई ११ पटक नकारात्मक प्रभाव पारेको र १९ पटक सकारात्मक प्रभाव पारेको छ भने मात्र २ पटक राजनीतिक घटनाहरूमा प्रतिक्रियाविहीन देखिन्छ । नेप्से राजनीतिक घटनाप्रति तटस्थ भएर प्रतिक्रिया देखाएको देखिँदैन, छोटो समयका लागि तटस्थ प्रतिक्रिया देखाए पनि समय बित्दै जाँदा सकारात्मक वा नकारात्मक प्रभाव निरन्तर देखाएको तथ्यहरू पनि छन् । उदाहरणका लागि २०६५ साल पुस ९ गतेको दिन नेप्से परिसूचक ७ सय ५.२१ अंकमा बजार बन्द भएको, एक महिनाको अन्तरालमा ९५.७५ अंकले ओरालो लागेर ६०९.४६ अंकमा बजार बन्द भएको थियो, कारण थियो तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईद्वारा पुँजीबजारलाई जुवाघरको संज्ञा दिनु । त्यस्तै २०७२ साल असोज ६ गते भारतद्वारा अघोषित नाकाबन्दी सुरु गरेलगत्तै नेप्से परिसूचकमा गिरावट हुनुको सट्टा लगातार दुई–तीन दिन वृद्धि भएको देखिन्छ, तर लामो अन्तरालमा भने निरन्तर ओरालो लागेको थियो ।
तसर्थ, लगानीकर्ताहरू देशको राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर कारोबार गर्नु स्वाभाविक हो । दीर्घकालीन प्रभाव पार्ने राजनीतिक घटना घटेको खण्डमा भने पुँजीबजारलाई प्रभाव पार्ने देखिन्छ ।

मिति घटना नेप्से सूचङ्काक पछिल्लो तीन दिनको औसत प्रतिफल बजारमा प्रभाव 
२०५६ पुस १७ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्रीमा पुनः निर्वाचित २६२.५ +०.४१ सकारात्मक
२०५६ चैत ९ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा पुनः निर्वाचित ३१६.३३ +०.९२ सकारात्मक
२०५८ जेठ १९ राजदरबार हत्याकाण्ड ३४२.२५ –०.५८ नकारात्मक
२०५८ भदौ १९ सरकार र माओवादीबीच शान्तिवार्ता २८२.७८ –०.७० नकारात्मक
२०५८ कात्तिक १० संकटकाल घोषणा २७६.९१ –१.९० नकारात्मक
२०५८ मंसिर ८ सरकार र माओवादीबीच युुद्धविराम भङ्ग २५५.९१ +०.१४ सकारात्मक
२०५९ जेठ ८ देउवा सरकारद्वारा प्रतिनिधिसभा विघटन २४१.४५ –१.०२ नकारात्मक
२०५९ असोज १८ राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार बर्खस्त २१७.९ ०.१५ सकारात्मक
२०६१ माघ १९ राजा ज्ञानेन्द्रद्वारा प्रत्यक्ष शासनको घोषणा २३७.६८ –०.१६ नकारात्मक
२०६१ चैत्र ९ सात संसदीय दलहरूद्वारा पहिलो विरोध कार्यक्रम २७८.४६ +०.३१ सकारात्मक
२०६१ चैत २२ १९ दिने दोस्रो जन आन्दोलनको पहिलो दिन २८५.४३ ०.६६ सकारात्मक
२०६२ जेठ ५ राजसंस्थाको अन्त्य, राजा ज्ञानेन्द्रद्वारा गद्दी त्याग २८९.३४ –०.४४ नकारात्मक
२०६२ मंसिर ५ बृहत् शन्ति सम्झौता ३०२.०२ –०.०९ नकारात्मक
२०६२ मंसिर ७ सात पार्टी र माओवादी बीच १२ बुँदे समझदारीमा हस्ताक्षर ३००.७८ +०.१० सकारात्मक
२०६३ वैशाख ११ विघटित प्रतिनिधिसभाको पुनःस्थापना ३३८.५४ +३.४७ सकारात्मक
२०६३ माघ ३ पहिलो मधेु आन्दोलन ५३८.५३ –०.७२ नकारात्मक
२०६४ चैत २८ संविधानसभाको निर्वाचन सम्पन्न ७२०.२४ +१.११ सकारात्मक
२०६५ जेष्ठ १५ गणतन्त्र घोषणा ८६०.६२ +०.२९ सकारात्मक
२०६८ चैत्र २८ जनमुक्ति सेना समायोजन प्रारम्भ ४४३.५४ ०.४१ सकारात्मक
२०६९ वैशाख ७ जनमुक्ति सेना समायोजन सम्पन्न ४४१.७३ –१.१५ नकारात्मक
२०७० मंसिर ४ दोस्रो संविधान सभाको निर्वाचन ६३४.३ +०.७९ सकारात्मक
२०७० फागुन २ सुशिल कोइराला प्रधानमन्त्रीमा निर्वाचित ८०१.३२ +०.८८ सकारात्मक
२०७२ साउन २३ संविधानको विरोधमा दोस्रो मधेस आन्दोलन १०६३.४१ +०.४३ सकारात्मक
२०७२ असोज ३ नेपालको संविधान, २०७२ जारी ११५६.०८ +०.१३ सकारात्मक
२०७२ असोज ६ भारतद्वारा अघोषित नाकाबन्दी सुरु ११७६.८६ +०.१३ सकारात्मक 
२०७४ वैशाख ३१ स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न १६५९.२३ –०.३१ नकारात्मक
२०७४ जेठ २४ शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित १५८२.११ +०.०६ सकारात्मक
२०७४ असोज २ स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न १५३९.८१ +०.२१ सकारात्मक
२०७४ मंसिर १० पहिलो चरणको संघीय तथा प्रादेशिक सभाको निर्वाचन सम्पन्न १५१३.७४ +०.५२ सकारात्मक
२०७४ मंसिर २१ दोस्रो चरणको संघीय तथा प्रादेशिक सभाको निर्वाचन सम्पन्न १५३०.४९ –०.२१ नकारात्मक
२०७४ पुस ३ संघीय तथा प्रादेशिक सभाको निर्वाचनको अन्तिम नतिजा १५०८.२५ –०.०६ नकारात्मक

–रशेश वैद्य

प्रतिक्रिया दिनुहोस्