आर्थिक विकासमा सहकारीको भूमिका «

आर्थिक विकासमा सहकारीको भूमिका

हाम्रो जस्तो विकासोन्मुख देश जहाँ आर्थिक वृद्धिदर न्यून रहेको छ, त्यहाँ सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने रोजगारीका लागि नै दैनिक बिदेसिने युवायुवतीको संख्या १२ सयदेखि १५ सयसम्म छ । त्यसैबाट पनि बेरोजगारीको अवस्था प्रस्टै हुन्छ । राज्यले रोजगारी सिर्जना गर्न नसक्दा ठूलो युवा जमात शिक्षित भएर पनि बेरोजगार बस्न बाध्य छन् भने अशिक्षित र अर्धशिक्षित त अरेबियन मुलुकदेखि विभिन्न राष्ट्रमा रोजगारीकै लागि जान विवश भएका छन् । सरकार भने देशमा भएका ठूला–ठूला उद्योगलाई सञ्चालन गरी थप रोजगारीको सिर्जना गर्नेतर्फ लाग्नुको सट्टा जेनतेन चलेका उद्योगहरू पनि बन्द हुने अवस्था आउँदासम्म प्रभावकारी कदम चालेर रोजगारी सिर्जना गर्नेतर्फ लाग्दैन ।
खासगरी देशमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात्को सरकारको समयदेखि उदार आर्थिक नीतिको अवलम्बन गरेपश्चात् आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्था स्थापना हुन थाल्यो, त्यसकै परिणामस्वरूप सहकारी संस्थाको वृद्धि हुँदै गए, जसले स–सानो रूपमा गाउँगाउँ सहरमा छरिएर रहेको रकमलाई जम्मा गरी आर्थिक कारोबार गर्दै केही मात्रामा रोजगारी प्राप्त गर्ने र पुँजी परिचालन गरी आर्थिक अवस्थासमेत सुधार्ने सुअवसर प्राप्त भएको देखिन्छ । सहकारी मूलतः न्यून आय भएका गरिब तथा विपन्न परिवारका लागि एउटै भरपर्दो संस्था बन्न पुग्यो, जसबाट थोरै–थोरै बचत गरेर ठूलो धनराशि निर्माण गरी स्वरोजगारी सिर्जना गर्ने तथा गाईभैंसी पालन, कुखुरा पालन, बंगुरपालन, बेमौसमी तरकारी खेती, च्याउखेतीजस्ता आयमूलक व्यवसाय गरी निर्धन व्यक्ति तथा परिवारको आर्थिक अवस्था उकास्न सहकारी संस्था अत्यन्तै महत्वपूर्ण सावित भयो ।

हाल देशमा २६ हजार ५ सय सहकारी संस्था कार्यरत छन्, जसले कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत योगदान गरेको छ ।

सहकारीकै माध्यमबाट ग्रामीण विपन्न महिलाहरूले आयमूलक कार्य गरी आर्थिक रूपमा सबल बन्दै सफल व्यवसायीसमेत बनेका छन् ।

यो अवसर प्रदान गर्नका लागि सहकारी नै एक मात्र मुख्य संस्था बनेको देखिन्छ । आम समूह महिलासमूहजस्ता संगठित संस्था खोलेर वैधानिक रूपले छरिएर रहेका पैसालाई लाख र करोडमा बदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम बनेर जीविकोपार्जन गर्ने समूह अनगिन्ती रहेका छन् । सहकारी संघ–संस्थामार्फत सुलभ ब्याजदरमा ऋण लिएर मैनबत्ती बनाउने, साबुन बनाउने, दालमोठ बनाउने, तितौरा बनाउने, सिलाइबुनाइ गर्ने, सिन्के तथा बाटेको धूप बनाउने जस्ता कार्य गरी लाखौंको संख्यामा बेरोजगार बसेका युवती आमा–दिदीबहिनीलाई आर्थिक रूपमा सबल बनाउने कार्य गरेको छ । साथै महिलाहरू पनि नेतृत्वमा पुगेर संगठनलाई समेत प्रभावकारी रूपले सञ्चालन गर्न सफल भएका छन् ।
वैदेशिक रोजगारीमा गएका युवाहरू पनि केही समयको पीडा र दर्दनाक अवस्था भोगेर स्वदेशमा फर्किएर त्यही सहकारी संस्थामार्फत पुँजी जम्मा गर्दै व्यावसायिक रूपमा कृषि तथा पशुपालन, दुग्ध व्यवसाय, बाख्रापालनजस्ता आधुनिक र वैज्ञानिक ढंगले व्यवसाय सञ्चालन गरेर आफ्नै जन्मभूमिमा विदेशमा भन्दा बढी आम्दानी गर्न सक्षम भएका छन् । अनेकौं व्यवधान सहेर काम गरी विदेशी भूमिमा पसिना बगाएर नेपाल पठाएको रकमबाट प्राप्त हुने रेमिट्यान्समा रमाउने सरकारले भने बर्सेनि श्रम बजार आउने ३–४ लाख युवालाई रोजगारी दिनुपर्नेमा ३–४ हजारलाई समेत रोजगारी दिने गरी कार्य गर्न नसकिरहेको वर्तमान अवस्थामा सहकारीमार्फत स्वरोजगार सिर्जना गर्दै देशको आर्थिक वृद्धिदर बढाउनमा समेत महत्वपूर्ण योगदान गरिरहेका छन् ।
सहकारी संस्थामा आबद्ध हुनु भनेको सेवाभावले कार्य गर्ने समूहमा मिलेर अगाडि बढ्ने, आर्थिक कार्यको जिम्मेवारी सबैले लिने, सबैको समान हैसियत हुने, पदीय हिसाबले उच्च र निम्न देखिए पनि आर्थिक कारोबार गर्ने सवालमा समान पहुँच हुने, एकताको भावनाको विकास गर्ने जस्ता सकारात्मक र समान अवसरको विकास गराउने संस्था भएकाले यसमा आबद्ध हुनु भनेको मिलेर कार्य गर्ने क्षमताको विकास गराउनु पनि हो । आर्थिक कारोबारमा साझेदारीहरूका बीचमा लामो समय मेल भएको अन्तअपवादका रूपमा मात्रै देखिन्छ, तर सहकारमिा भने दीर्घकालीन रूपमा सहकार्य गर्दै आर्थिक अवस्थालाई समुन्नत बनाउँदै राज्यको नियम–कानुनको परिधिभित्र रहेर समग्र रूपमा देश विकासमा लाग्ने नै हो । पछिल्ला समयमा संख्यात्मक रूपमा सहकारीको संख्या वृद्धि हुँदै जाँदा केही मात्रामा भने नकारात्मक असर पर्ने कार्य गरी समग्र सहकारी आन्दोलन र इतिहासलाई समेत दाग लगाउने कार्य भएका पनि छन् ।
हरेक क्षेत्रमा गलत मनसायका व्यक्ति हुन्छन् र त्यस्ता व्यक्तिले सिंगो संस्थालाई बदनाम गराउने गरेका पनि थुप्रै दृष्टान्त भेटिन्छन् । झनै सहकारी संस्थामा त आर्थिक कारोबार बढी हुने भएकाले यसमा पनि त्यस्ता कुदृष्टि राख्ने खराब आचरणका केही व्यक्ति हुने नै भए । त्यस्ता संस्थालाई अहित हुने र विकृतिलाई बढावा दिनेलाई सहकारी नीति नियम र वर्तमान कानुनले दिएको अधिकार उपयोग गरी निरुत्साहित गर्दै सहकारी संस्था भनेको देशको आर्थिक स्तम्भ नै हो भन्ने प्रमाणित गर्न यसमा आबद्ध सबै सदस्यहरू गम्भीर भएर सही ढंगले संस्थाको नेतृत्व गर्दै आपसमा हातेमालो गरी दिगो आर्थिक विकासका लागि पुँजी निर्माण गरी आर्थिक अनुशासनमा रहेर रोजगारी तथा आर्थिक वृद्धि गर्नमा इमान्दार भएर लाग्नुपर्ने देखिन्छ । सहकारी आदर्श मूल्य र मान्यतालाई आत्मासात् गर्दै अगाडि बढ्न सकिएमा अझै पनि देशको आर्थिक वृद्धिदरलाई अपेक्षा गरिएअनुरूप दोहोरो अंकमा पु¥याउने लक्ष्य हासिल गर्न कठिन देखिन्न ।
वास्तवमा सहकारीको पहुँच ग्रामीण इलाकाका ती जनसमुदायका बीचमा पु¥याउनुपर्छ जहाँ बैंक तथा अन्य वित्तीय संघसंस्थाहरू रहेका छैनन् । पछिल्ला समयमा सहकारी संघसंस्थाहरू सहरकेन्द्रित हुँदै गएका छन् । यसले विपन्न वर्गमा सहकारी संस्थाको उपलब्धता नहुँदा उनीहरूले थोरै पुँजी बचत गरी त्यसै संस्थाबाट सहुलियत दरमा ऋण लिएर स्वरोजगारका कार्य गर्न नपाइरहेको अवस्था पनि विद्यमान छँदैछ । कतिपय सहकारी संस्थाहरूले बहुउद्देश्यीय भने पनि एउटै कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गरेर वर्षौंदेखि रहिरहेका छन् । सहकारी संस्थाको गठन गर्दा जुन–जुन क्षेत्रमा जसरी कार्य गर्ने भनिएको थियो, त्यसरी सबै क्षेत्र समेटेर कार्य अथवा आर्थिक क्रियाकलाप गर्ने सहकारी संस्थाहरू अत्यन्तै कम मात्र भेटिन्छन् ।
कतिपय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यलाई सामान्य सहकारीका बारेमा जानकारीसमेत नहुँदा आफ्नो संस्थाको गतिविधि तथा कार्यक्षेत्रका बारेमा अनभिज्ञ देखिन्छन् । यसलाई हटाउन सम्बन्धित सहकारी, संस्थाका सदस्यहरू नै जागरूक भएर सहकारी विकास बोर्ड तथा विभागलगायतका निकायबाट दिइने तालिममा सहभागी भएर सहकारीप्रति बढी जानकार भएर संगठित र प्रभावकारी रूपमा आफ्नो उपस्थिति देखाएर नमुनाका रूपमा आफ्नो संस्थालाई चिनाउनेतर्फ अग्रसर हुनुपर्छ, जसले गर्दा संस्थाका कार्य उदाहरणीय बन्छ भने आफ्नो समेत कार्य सम्पादन क्षमतामा वृद्धि हुन्छ, जसले संस्थाको गरिमा वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह समेत गराउँछ ।
समग्रमा भन्नुपर्दा सहकारी नै त्यस्तो महत्वपूर्ण संस्था बनेको छ जसका माध्यमबाटै अति विपन्नलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै उनीहरूको आर्थिक अवस्थालाई उकास्दै रोजगारी सिर्जना तथा राष्ट्रिय आम्दानीमा समेत योगदान दिलाउने अनि गरिबीका रेखामुनि रहेकालाई आर्थिक रूपमा सवल बनाउँदै आर्थिक वृद्धिमा टेवा पु¥याउने प्रमुख माध्यम हो; तसर्थ यसलाई व्यवस्थित बनाउन सबै सदस्य तथा जनस्तरबाट सकारात्मक प्रयासको सदा खाँचो रहन्छ ।

प्रतिक्रिया दिनुहोस्