बन्द गर्ने भनेको विद्यालय नै अब्बल «

बन्द गर्ने भनेको विद्यालय नै अब्बल

  • अंग्रेजीसँगै स्कुल बस सञ्चालन भएपछि निजीका विद्यार्थी सरकारीमा

पाल्पा-निजीको पढाइ राम्रो हुन्छ भनेर निजी विद्यालयमा आफ्ना छोराछोरी पठाउनेले समेत अहिले सरकारी विद्यालयमै आफ्ना छोरा छोरीलाई पठाउन थालेका छन् । सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि निजीका विद्यार्थी सरकारीमा गएका हुन् । यस्तै यातायातको समेत सुविधाले विद्यार्थीमा झनै आकर्षण थपेको छ । 

निजी विद्यालयले त टाढाटाढाबाट विद्यार्थी बोक्न होडबाजी गर्दै बस सञ्चालन गरेको हामी सबैले देखेकै छौं । तर सरकारी विद्यालयले भने अहिलेसम्म यस्तो अभ्यास गरेको पाइएको छैन । सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउनेको जमात पनि उत्तिकै छ ।
स्वयं सरकारी विद्यालयमा नै पढाउने शिक्षकले नै आफूले पढाएको विश्वास नलागेर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाउने गरेका छन् । तर, पाल्पाका दुई सरकारी विद्यालयले भने विद्यार्थीको आर्कषण सरकारी विद्यालयमा बढाउन र विद्यार्थीको सुविधाका लागि भन्दै अंग्रेजी माध्यममा पढाइसँगै बस खरिद गरी सञ्चालनमा ल्याएको छ ।
हामीले अंग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि एक वर्षमा ५० भन्दा बढी निजीका विद्यार्थी सरकारी विद्यालयमा आएका छन् । दमकडा नमुना माविका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले भने, “अहिले अभिभावकको माग र चाहनाले विद्यालयले बससमेत सञ्चालन गरेको छ जसले गर्दा अभिभावक थप उत्साहित हुनुभएको छ ।
दमकडा माविलाई सरकारले गतवर्ष नमुना माविको रूपमा घोषणा गरेको छ । विद्यालयको कुशल व्यवस्थापन र शिक्षक कर्मचारीको मेहनतले सरकारी विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको सापकोटा बताउँछन् । गतवर्ष ८५ जनाले एसईई पास गरेर उच्चशिक्षा हासिल गर्न सफल भएको विद्यालयमा ७ सय बढी विद्यार्थीले अध्ययन गर्दछन् । विद्यार्थी संख्या बढी भएकाले एउटा स्कुल बसले नपुगेर अर्को ल्याउने तयारी रहेको सापकोटा बताउँछन् ।
दमकडा माविले कार्य क्षेत्रभित्रको रुप्से, चिर्तुङधारा, कसेनी, पोखराथोकलगायतका गाउँका विद्यार्थीलाई आवतजावतमा सहजता बनाउन अभिभावककै माग र चाहनाअनुसार अभिभावक सहयोग तथा विद्यालयको आन्तरिक स्रोतबाट स्कुल बस किनेको हो ।
जिल्ला सदरमुकाम तानसेनका भुसाल डाँडा र दमकडा माध्यमिक विद्यालयले करिब २६ लाखको लागतमा विद्यार्थी बोक्ने बस खरिद गरेका छन् । भुसाल डाँडाले ४१ सिट क्षमता भएको बस खरिद गरेको हो ।
बन्द हुने अवस्थामा पुगेको विद्यालय अब्बल
विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको भुसाल डाँडा माविले समेत यातायातको सुविधाका लागि जिल्लामै पहिलो पटक बस ल्याएको विद्यालयका सहायक प्रधानाध्याक सुन्दर श्रेष्ठले जानकारी दिए । विद्यालयमा बस खरिदका लागि जापानी समाजसेवी ओकेबाजेले १५ लाख र अन्य विद्यालयको स्रोतबाट गरी २४ लाख खर्च भएको श्रेष्ठले बताए ।
निजी स्कुलका बस छन्, अंग्रेजी माध्यममा राम्रो पढाइ छ भन्ने अभिभावकको सोचलाई परिवर्तन गर्दै अंग्रेजी माध्यममा पढाइसहित विद्यालयको भौतिक र शैक्षिक सुधारमा बस सेवा थप गरिएको श्रेष्ठले बताए । उनका अनुसार अभिभावक शिक्षक मिलेर निजी स्तरबाट शिक्षक राखेर भए पनि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ भएपछि विद्यालयको शैक्षिक सुधार भएको छ । विद्यार्थी संख्या नै नभएर बन्द गर्ने अवस्थामा पुगेको भुसालडाँडा मावि अहिले जिल्लाकै अब्बल र नमुना बन्दै गएको छ ।
अंग्रेजी र नेपाली माध्यममा नर्सरीदेखि आठसम्म पढाइ हँुदै आएको विद्यालयले केही वर्षभित्रै कक्षा १२ सम्म नै अंग्रेजी माध्यममा पढाउने तयारी भएको दमकडा माविका शिक्षक जीवन आचार्यले बताए । विद्यालयमा ९ कक्षादेखि इन्जिनियरिङ, ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । स्थानीय नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरी बससमेत खरिद गरिएको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्