पहिलो किस्ता लिने भूकम्प प्रभावितले ५० हजार फिर्ता गर्न थाले

निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका भूकम्प प्रभावितले फिर्ता गर्न थालेका छन् ।
पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि रकम फिर्ता गर्न थालेका हुन् । प्राधिकरणले हालसम्म प्रभावितको सूचीमा रहेकामध्ये ६ लाख ७६ हजारले अनुदान सम्झौता गरेको ६ लाख ६४ हजार ६ सयले पहिलो किस्ता लिए पनि दोस्रो किस्ताको रकम लिनेको संख्या भने १ लाख ४५ हजारमात्र छ ।
पहिलो किस्ताको रकम लिएर पनि दोस्रो किस्ताको रकम लिन नआएपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले पैसा फिर्ता गरी प्रभावितको सूचीबाट नाम हटाउन सकिने व्यवस्था गरेको छ । सूचीमा रहेर घर बनाउन आवश्यक नठान्ने प्रभावितले सरकारको १५०१२ राजस्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
प्राधिकरणका अनुसार, पहिलो किस्ताको रकम लिएका इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौंडा नगरपालिका–८ का तुलाबहादुर लामाले पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरेका थिए भने प्रभावितको सूचीबाट पनि नाम हटाउन आवेदन दिएका थिए । बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उनीहरूको नाम लाभग्राहीबाट हटाउने निर्णय गरेको छ । कार्यकारी समितिले विगतमा आवश्यक निजी आवास बनाउन आवश्यक नपरेर ५० हजार रकम फिर्ता गर्न समेत प्रभावितलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरूले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।