रिडी हाइड्रोपावरले निर्माण गर्ने ८ मेगावाट सोलारको पीपीए «

रिडी हाइड्रोपावरले निर्माण गर्ने ८ मेगावाट सोलारको पीपीए

नेपाल विद्युत् प्राधिकरणले रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने साढे ८ मेगावाटको सोलार आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरण र कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो ।
पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार सोलार आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जडान हुने सोलार आयोजना पूरा गरेर आगामी चैतबाट विद्युत् उत्पादन गर्ने गरी पीपीए भएको कम्पनीका सञ्चालक कुबेरमणि नेपालले बताए । उनका अनुसार अबको ७ महिनामा कम्पनीले सोलार आयोजना पूरा गरेर साढे ८ मेगावाट विद्युत् प्राधिकरणको जोगीकुटी सबस्टेसनमा जोड्नु पर्नेछ ।
कम्पनीले असोज अन्तिम साताबाट सोलार आयोजनाको उपकरण जडान हुने क्षेत्रको सर्वेक्षण सुरु गर्ने पनि नेपालले बताए । मंसिरबाट उपकरण जडान सुरु गरेर ४ महिनामा पूरा गर्ने कम्पनीको लक्ष्य छ ।
सोलार आयोजना पूरा गर्न ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंक अप्m काठमाडौंको अगुवाइमा माछापुच्छ«े र एसबीआई बैंकले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । २५ प्रतिशत स्वपुँजी लगानी रहने छ । आयोजनामा लगानी गर्न कम्पनीले रिडीका सेयरधनीका लागि १ः१ अनुपातको हकप्रद सेयर निष्कासनको तयारी गरेको छ । आगामी असोज २० गतेको वार्षिक साधारणसभाबाट हकप्रद सेयरसम्बन्धी प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पीपीए आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्