आशा लघुवित्त वित्तीयको ५ वटा शाखा विस्तार «

आशा लघुवित्त वित्तीयको ५ वटा शाखा विस्तार

आशा लघुवित्त वित्तीय संस्थाले बिहीबार एकैदिन थप पाँचवटा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । थप गरिएका शाखा कार्यालयहरू सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिकातथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् । शाखा कार्यालयहरू थप गरिएपछि वित्तीय संस्थाको जम्मा शाखाहरूको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरूमा शाखाहरू विस्तार गरेको छ ।
स्थानीय जनप्रतिनिधिहरूको सहभागीतामा शाखाहरूको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकामा नगरप्रमुख हस्तबहादुर पुन, गौरीगंगा नगरपालिका–९ का वडा अध्यक्ष हरिप्रसाद तिवारी, आदर्श कोटवाल गाउँपालिकामा गापा प्रमुख मुस्तफा अन्सारी, पटेर्वा सुगौली गाउँपालिकामा गापा प्रमुखी हरिनारायण चौधरी थारु तथा मौलापुर नगरपालिकामा नगर उपप्रमुख गौरीशंकरप्रसाद जयसवालले शाखा कार्यालयहरू उद्घाटन गरे । उद्घाटनका अवसरमा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सेवाग्राहीहरूको समेत बाक्लो उपस्थिति थियो ।
विपन्नवर्गलाई आर्थिक क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित यस राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले पहुँच अभिवृद्धिका क्रममा शाखाहरू स्थापना गरेको तथा संस्थाले आगामी दिनहरूमा अझ सहज र प्रभावकारी रूपमा वित्तीय सेवा प्रवाह गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले दिए ।

 

प्रतिक्रिया दिनुहोस्