विश्व पर्यटन दिवस मनाइयो «

विश्व पर्यटन दिवस मनाइयो

काठमाडौं-तेन्जिङ हिलारी एभरेस्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथनका आयोजक हिमालय एक्सपीडीसन्सले बिहीबार ललितपुरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ३९ औं विश्व पर्यटन दिवस मनाएको छ ।
कार्यक्रममा बोल्दै हिमालय एक्सपीडीसन्सका संस्थापक बिक्रम पांडेकाजीले आफूले परिकल्पना गरेको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथन मुलुककै उत्कृष्ट पर्यटनउपज बनेकोमा खुसी व्यक्त गरे । ओझेलमा परेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक धरोहरहरूलाई म्याराथनको माध्यमबाट प।काशमा ल्याई पर्यटन प्रडक्टका रूपमा विकसित गर्दै स्थानीयलाई पनि फाइदा पुग्ने पर्यटन स्थापित गर्दै जानुपर्ने नत्र पर्यटन दिगो हुन नसक्ने बताउँदै पाँडेकाजीले आफ्नो पर्यटन गतिविधिहरूमा स्थानीय बासिन्दाले उच्चतम लाभ पाउन सकून् भन्ने नै आफ्नो उद्देश्य रहेको बताए ।
कार्यक्रममा नेपाल र भारतलगायत अन्य देशमा रहेका बौद्ध सम्पदाहरू प्रवद्र्धन गर्न बनाइएको वेबसाइटको सुरुवात गरियो । उक्त वेबसाइटमा बौद्ध पर्यटनका बिभिन्न कार्यक्रम तथा गतिविधिहरू समावेश गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नविनतम पर्यटन गतिविधिहरू सुरु गरेकामा पाँडेकाजीको प्रशंसा गरे । “हामी सबै बुद्ध बन्न चाहन्छौं, तर सिद्धार्थ गौतमले जस्तो भौतिक माया मोह छोड्न कोही तयार हुँदैनौं । मैले यो कुरा शीर्ष नेताहरूको बैठकमा बारम्बार उठाएको छु,” उनले बताए ।
पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै श्रेष्ठले पर्यटनको विकास गर्न सबै पक्षलाई समेट्दै निजी क्षेत्रलाई विश्वासमा लिएर र आवश्यक सुविधा प्रोत्साहन दिएर सरकार अघि बढ्नुपर्ने बताए ।
त्यसैगरी पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठले पर्यटनमा सिर्जनशीलता आवश्यक रहेको बताउँदै पाँडेकाजीले सुरु गरेका पर्यटन कार्यक्रमहरूको खुलेर प्रशंसा गरे । “सगरमाथा र लुम्बिनी क्षेत्रको खेलकुद गतिविधिमार्फत राम्रो विकास तथा प्रवद्र्धन भइराखेको छ । यस्ता गतिविधि अन्य क्षेत्रमा पनि हुन जरुरी छ,” उनले बताए ।
कार्यक्रममा बोल्दै पिजे क्लब नेपालका अध्यक्ष विकास कार्कीले नेपाल फोटो प्रतियोगिताको सहभागीहरूलाई पुरस्कृत गरेकामा हिमालय एक्सपीडीसन्सको खुलेर प्रशंसा गरे ।
तेन्जिङ हिलारी माउन्ट एभरेस्ट म्याराथन पुरस्कार
पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठले सन् २००३ देखि निरन्तर रूपमा आयोजना भइरहेको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको सफलताका लागि स्थापनाकालदेखि सहयोग पु¥याउने सरद प्रधान (नेपाल पर्यटन बोर्ड), विकास कार्की (अन्नपूर्ण पोस्ट दैनिक), चार्लस हेभिल्यान्ड (बीबीसी) र कुमार श्रेष्ठलाई नगद २५ हजार रुपैयाँको माउन्ट एभरेस्ट म्याराथन सद्भाव पुरस्कार प्रदान गरे । त्यस्तै म्याराथनको ६० किलोमिटर लामो एभरेस्ट एक्स्ट्रीम अल्ट्रा दौड तीन पटक जितेर ह्याट्रिक गर्ने नेपाली सेनाका धावक तीर्थ तामाङलाई २५ हजार रुपैयाँको बैकुण्ठ मानन्धर पुरस्कार प्रदान गरियो ।
लुम्बिनी शान्ति म्याराथन पुरस्कार
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पुरानो मायादेवी मन्दिरसँगै रहेको प्राचीन पीपलको रूखको बीउ वंश बचाउँदै सो रूखको ‘टिस्यु कल्चर’ प्रविधिबाट बिरुवा उत्पादन गरी देश विदेशमा वितरण गर्दै आएका रुपन्देहीका शब्बिर अहमद खानलाई रु २७ हजार ७ सय ७५ रुपैयाँको लुम्बिनी शान्ति म्याराथन सद्भाव पुरस्कार प्रदान गरियो ।
पिजे क्लब फोटो पुरस्कार
कार्यक्रममा फोटोपत्रकारहरूको संस्था पिजे क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल फोटो प्रतियोगितामा समावेश भएका चार फोटोहरू पनि पुरस्कृत भएका थिए । प्रतियोगिताको खेलकुद विधामा प्रथम पुरस्कार हासिल गर्ने तेन्जिङ हिलारी एभरेस्ट म्याराथन–२०१८ को फोटोले सगरमाथाको उचाइ बराबर ८ हजार ८ सय ४८ रुपैयाँको माउन्ट एभरेष्ट सद्भाव पुरस्कार पायो । उक्त फोटो नागरिक र रिपब्लिका दैनिकका प्रतीक रायमाझीले खिचेका थिए ।
त्यसैगरि प्रतियोगितामा स्थानीय जनजीवन झल्काउने तीन उत्कृष्ट फोटोलाई दर्शक छनोटको आधारमा ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेहरूमा दुर्गा राना मगर (कास्की), श्रीकृष्ण खत्री (भक्तपुर) र वासुदेव वर्मा (कपिलवस्तु) छन् ।
ग्यास्ट्रोनोमी पर्यटन
पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले सुरु गरेको ग्यास्ट्रोनोमी पर्यटनलाई सहयोग पु¥याउने हेतुले हिमालय एक्सपीडीसन्स परिसर सानेपामा खुल्न लागेको नुवाकोट घर चाइम्स रेस्टुराँले तयार पारेको नयाँ परिकार ‘डक टिक्का मसाला’ को पनि बिहीबार सुरुवात गरियो ।

 

प्रतिक्रिया दिनुहोस्