‘सरकारको ध्यान सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनेमा केन्द्रित’ «

‘सरकारको ध्यान सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनेमा केन्द्रित’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन् ।
मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सूचना र प्रविधिको प्रयोगमा अधिकतम पहल गरिरहेको पनि स्पष्ट पारे ।
बिहीबार ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई जोड दिएको पनि स्मरण गराए । उनले १ वर्ष भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने घोषणा पनि गरे ।
उनले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रूपमा अघि बढाउन सरकार क्रियाशील रहेको दाबी गरे । सन् २०२० भित्र १ अर्ब ६० करोड पर्यटकले विश्व भ्रमण गर्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै मन्त्री अधिकारीले उनीहरूलाई नेपाल आउने वातावरण बनाउन सरकार लागि परेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अवको विश्व भनेको डिजिटल मार्केटिङको भएको उल्लेख गर्दै सवै प्रर्वद्धनका कार्यक्रम त्यसैमा केन्द्रित हुने बताए । “हामीले सोही अनुसारका कार्यक्रमहरू बनाइ रहेका छौं, अवको प्रवद्र्धन डिजिटलनै हो,” सीईओ जोशीले भने ।
कार्यक्रममा धेरै कर तिर्ने पर्यटन क्षेत्रसँग सम्बन्धित संस्था, नयाँ गन्तव्य तथा अब प्रवद्र्धन गरिने तीनवटा गाउँको समेत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्