क्यापिटल मर्चेन्टमा सञ्चालक समिति गठन «

क्यापिटल मर्चेन्टमा सञ्चालक समिति गठन

“वित्तीय संस्थाका लागि संस्थागत सुशासन र नियमित क्रियाशीलताले संस्थालाई नयाँ उचाईमा पु-याउँछ ।”

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अध्यक्षमा चिरञ्जीवी थापा नियुक्त भएका छन् । साढे ५ वर्षअघि समस्याग्रस्त सूचीमा रहेको फाइनान्सको अधिक सेयर हिस्सा नयाँ समूहले लिएपछि गैरआवासीय नेपाली थापा अध्यक्ष चयन भएका हुन् । थापा हाल जापानमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनलाई अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले बिहीबार अध्यक्षको सपथ गराएका छन् ।
त्यसैगरी, थापाको अध्यक्षतामा निरन्जनसिंह बस्नेत, भुपेन्द्रबहादुर बस्नेत, जगतराज खनाल र स्वतन्त्र सञ्चालकको रूपमा कैलाशभक्त कारङ्जित रहेको सञ्चालक समिति बनेको छ । सञ्चालकहरूले पनि बिहीबार सपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकले २०६९ माघ ९ गते क्यापिटल मर्चेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो । खासगरी त्यसका तत्कालिन प्रमुख कार्यकारी अधिकृत पवन कार्कीलगायतको समूहले संस्थालाई धरासायी बनाएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ऋण उठाएर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न संस्थालाई निर्देशन दिएको थियो ।
क्यापिटल मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत रवीन्द्र खनालले चुनौतिका रूपमा पुरानो ऋण रहेको बताए । “अन्य व्यवसाय जस्तो बैंकिङ क्षेत्रमा लगानी गर्ने वित्तिकै प्रतिफल आउँदैन,” उनले भने, “वित्तीय संस्थाका लागि संस्थागत सुशासन र नियमित क्रियाशीलताले संस्थालाई नयाँ उचाइमा पु¥याउँछ ।”
थापासहित प्रतिष्ठित उद्यमी÷व्यवसायी प्रवलजंग पाण्डे समूहले हिस्सा सेयर खरिद गरेपछि नयाँ समूहले संस्था सञ्चालन गर्ने भएको हो । पुराना संस्थापक सेयरधनीसँग कुरा मिलेपछि मंगलबार मात्रै प्रतिकित्ता २२ रुपैयाँका दरले ६ लाख १ हजार ४ सय १७ कित्ता सेयर खरिद गरेका थिए ।
२०७४ पुसमा फाइनान्सको ९३ करोड ५० लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी छ । नयाँ समूहले फाइनान्सको ६४ प्रतिशत हिस्सा सेयर खरिद गर्ने बताइएको छ । २०७४ पुससम्म फाइनान्सको ८३ करोड ४० लाख निक्षेप दायित्व र १ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ ऋण बाँकी छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नुअघि कम्पनीको निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ तथा ऋण ३ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्