कोरियाबाट फर्केका युवालाई उद्यमशील बन्न सुझाव «

कोरियाबाट फर्केका युवालाई उद्यमशील बन्न सुझाव

कोरियामा रोजगारी गरी फर्केका युवालाई कोरियाले अपनाएको औद्योगिक अभ्यासको अनुशरण गरी नेपालको आर्थिक समृद्धिमा लगाउन विज्ञले सुझाव दिएका छन । नेपालस्थित कोरियन दूतावास र कोरियाबाट फर्केका युवाले स्थापना गरेको अंकुर नेपाल संस्थाले बिहीबार राजधानीमा गरेको कार्यक्रममा विज्ञहरूले कोरियामा सिकेको सीप नेपालको विकासमा खर्चन सुझाव दिएका हुन् ।
कार्यक्रममा कोरियाली राजदूत पार्क योङ सिकले रोजगारीका क्रममा कोरियामा सिकेको सिप तथा पुँजीलाई नयाँ शैली र प्रविधिको प्रयोग गरी स्वदेशमा लगानी गर्न सुझाव दिए । ‘कोरियाको आर्थिक विकासमा नीजि क्षेत्रको भूमिका र नेपाली कामदारले गरेको योगदान’ विषयक कार्यक्रममा राजदूत सिकले ३५ हजार नेपाली हाल कोरियामा कार्यरत रहेको र २० हजार कोरियामा काम गरेर फर्केको भन्दै नेपालले सधै रेमिट्यान्सको भर गर्नेभन्दा पनि स्वदेशमा नै रोजगारीका विकल्प खोज्ने वातावरण बनाउनुपर्ने बताए । उनले नेपाली कामदारले कोरियाको अर्थतन्त्रमा दक्षतापूर्वक र इमान्दार कामदारको रूपमा पु¥याएको योगदानलाई सम्मान गर्ने जनाउँदै कोरियाबाट फर्केपछि नेपालको समृद्धिका लागि काम गर्न सुझाव दिए ।
कार्यक्रममा अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले कोरियाबाट फर्केका युवाले विभिन्न क्षेत्रमा लगानी बढाउँदै लगेको जानकारी दिए ।
सो अवसरमा कोरियाको योङ्सी विश्वविद्यालयका प्राध्यापक डाक्टर यु जङ सिकले कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै कोरियाले सरकारी र निजी क्षेत्रको सहयोगमा लगानीमैत्री वातावरण विकास गर्ने नीति बनाएका कारण विगत ४० वर्षमा दु्रत आर्थिक विकास गरेको नमूना प्रस्तुत गरे । उनले नेपालले पनि कोरियाबाट सिक्न सक्ने बताए । उनले सन् १९६० देखि २०१७ सम्म कोरियाका मुख्य बहुराष्ट्रिय कम्पनीले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेका बताए ।
पोखरा विश्वविद्यालयका नेपाली इनोभेसन टेक्नोलोजी एन्ड इन्टरपेनरसीप कार्यक्रमका परियोजना म्यानेजर डेभिड शर्माले नेपालमा कृषि, सेवा, उद्योग, पशुपालन र मेटल प्रोसेसिङलगायतका क्षेत्रमा लगानी बढ्दै गएको बताए । उनले वैदेशिक रोजगारीबाट थोरै पैसा लिएर आउने युवालाई आधुनिक कृषि टनेल, प्लास्टिकजन्य फोहोर व्यवस्थापन, अल्लो, लोक्तालगायतका साना उद्योग र फर्ममा लगानी गर्न सुझाव दिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर रिर्चड हावर्डले रोजगारी सिर्जनाका लागि लगानीकर्ता र श्रमिकको व्यवस्थापन मुख्य कुरा रहेको भन्दै यसमा आइएलओले सहकार्यमा काम गरिरहेको बताए । यसैगरी युनिर्भसिटी अफ कोरियाका प्राध्यापक छ्वे सुङ जुले नेपालबाट कामदार बाहिर जानेभन्दा पनि कोरियाबाट फर्केका दक्ष युवालाई स्वदेशमा नै रोजगारी दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्