सरकारको इमान्दारितामा नै प्रश्न उठेको छ : पौडेल «

सरकारको इमान्दारितामा नै प्रश्न उठेको छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको इमान्दारीतामा नै प्रश्न उठेको बताएका छन् । दुईहप्ते लामो युरोप भ्रमण सकेर बिहिबार स्वदेश फर्केका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको इमान्दारितामा प्रश्न उठाएका हुन् । सरकारको मुख्य काम नै शान्ति सुरक्षा र सुशासन दिने भए पनि त्यसमा सरकार पूर्ण असफल भइसकेको पौडेलको भनाइ थियो ।
निर्मला पन्तको हत्या भएको दुई महिनासम्म पनि दोषी पत्ता लगाउन नसक्नु र राजधानीमै पूर्वराजदूतको हत्या हुँदासमेत दोषीलाई पत्ता नलगाउनुले सरकार जनतालाई सुरक्षाको अनुभूति दिन असफल भइसकेको उनले बताए । पन्तको हत्याकाण्डको प्रतिवेदन बाहिर नल्याएर सरकारले भित्र भित्रै गुम्स्याएकोे आरोप लगाउँदै उनले भने, “छानबिनलाई किन सरकारले गुम्स्याएर राख्यो? दोषीलाई कारबाही गर्नेतर्फ किन गम्भिरता देखाइएन ।” वरिष्ठ नेता पौडेलले भने पहिलेदेखि नै बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा अपारदर्शी काम गर्नु आपत्तिजनक भएको पनि बताए । मुलुकमा ठूला ठूला भ्रष्टाचार भएको र पछिल्लो पटक ‘वाइड बडी जहाज’ खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयमा समेत सरकार गम्भिर नभएको भन्दै पौडेलले असन्तुष्टि जनाए । “सरकारको इमान्दारिता माथि नै प्रश्न उठेको छ,” उनले भने, “सरकारले किन भ्रष्टाचार नियन्त्रण गर्न नलागेको हो,” पौडेलले भने ।
त्यस्तै, अर्को फरक सन्दर्भमा उनले संशोधन हुन लागेको पार्टीको विधानमा जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा भाग दिन पाउने अधिकार कटौती गर्न नहुने पक्षमा आफू रहेको बताए । निर्वाचनमा समेत भोट दिन पाउनुपर्ने आवाज उठिरहेको भन्दै पार्टीको विधानमा भोट दिन पाउने अधिकारलाई कटौती गर्न नहुने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्