वाइडबडी प्रकरणमा महालेखा परीक्षकसँग छलफल गरिने «

वाइडबडी प्रकरणमा महालेखा परीक्षकसँग छलफल गरिने

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमानमा अनियमितताको आशंका गर्दै आएको संसद्को सार्वजनिक लेखा समितिले महालेखा परीक्षक टंकमणि शर्मासँग छलफल गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीदमा अनियमितता भएको भन्दै प्रतिवेदन सार्वजनिक गरिसकेकाले यस विषयमा शर्मासँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकलेमा समितिका सदस्यहरूले वाइडबडी विमान खरीदमा अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए ।
निगमले इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टीविनै २२ अर्ब रुपैयाँभन्दा बढीमा दुई थान वाइडबडी जहाज खरिद गरेको आरोप लगाइएको छ । २२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिएका जहाजको इन्जिन र स्पेयर्स पार्ट्सको वारेन्टीको विषयमा सम्झौतामा केही उल्लेख नगरिनुले जहाज खरिदमा ठूलो भ्रष्टाचार गरिएको आशंका गरिएको हो ।
यसैबीच, हवाइ क्षेत्रको विद्यमान अवस्थाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असन्तुष्टि जनाएका छन् । मन्त्री अधिकारीले हवाई क्षेत्रको विद्यमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै हवाई क्षेत्रका पूर्वाधारदेखि सेवा प्रवाहमा व्यापक सुधार आवश्यक रहेको बताए । विश्व पर्यटन दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले २०२० मा २० लाख पर्यटक भि¥याउने सरकारी लक्ष्य चूनौतीपूर्ण रहेको भन्दै त्यसको लागि पूर्वाधार विकासमा ठूलो लगानी गर्नुपर्ने बताए । उनले एयर ट्राफिक जाम कम गर्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आउदो हिउँदसम्म दैनिक २४ घण्टा सञ्चालनमा ल्याउने पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको छ ।
मन्त्री अधिकारीले १ वर्षभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पनि बताए । पर्यटनमन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले वायु सेवा निगमको सेवालाई प्रवाभकारी बनाउन नसक्दा ठूलो संख्यामा पर्यटक गुमाउन परेको भन्दै यसले आफ्नो बजार विस्तार गर्दै नयाँ गन्तव्यमा जहाज उडाउन नयाँ जहाजको संख्या बढाउदै लानुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले नयाँ जहाज खरीद गर्दा कसैले अलमल गर्न खोज्छ भने यो दुर्भाग्य हुने पनि बताए ।
पर्यटनमन्त्री अधिकारीले नेपालमा पर्यटन क्षेत्रको विकास उत्साहजनक रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्