भारतीय रूपैयाँको अवैध कारोबारमा वृद्धि

वीरगन्ज-दसैं नजिकिँदै गर्दा नेपालमा भारतीय नोटको कारोबार र ओसारपसारमा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दुईदिनमा ८ लाख ५० हजार भारतीय नोटसहित दुईजनालाई पक्राउ गरेको घटनाले पनि भारतीय रूपैयाँको नेपाली बजारमा अवैध कारोबार भइरहेको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार र बुधबार दुईदिनमा ८ लाख ५० हजार अवैध भारतीय रूपैयाँसहित दुईजनालाई पक्राउ गरेपछि भारतीय रूपैयाँको अवैध कारोबारमा वृद्धि भएको देखिएको हो । मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को सडकमा भारतबाट नेपालतर्फ ना. ३७ प ९७१९ नम्बरको मोटरसाइकल चलाएर आउँदै गरेका वीरगन्ज महानगरपालिका–६ कुमालटोलका ४० वर्षीय लालबाबु मियाँलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट भारतीय रूपैया ४ लाख (नेपाली ६ लाख ४० हजार)सहित पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । त्यस्तै बुधबार पनि भारतीय रूपैयाँ २ लाख १० हजारसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–६ बस्ने ६३ वर्षीय सूर्यमान श्रेष्ठ छन् । रक्सोलबाट वीरगन्जतर्फ आउँदै गरेका उनलाई पनि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २ लाख १० हजार अवैध भारतीय रूपैयाँ बरामद भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । श्रेष्ठको साथबाट विभिन्न बैंकको २२ थान एटिएम पनि बरामद भएको छ ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले लामो समयसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी प्रावधान नरहेकाले भारतीय रूपैयाँको अवैध कारोबारको बारेमा लामो अनुसन्धानबाट मात्रै जानकारी हुने पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । दुईदिनमा अवैध भारतीय रूपैयाँसहित पक्राउ पर्नु नेपालमा सटही काउन्टरमा भारतीय रूपैयाँको कारोबार हुनु, सुन तस्करी हुनु र अन्य विभिन्न अवैध कारोबारका कारणले पनि भारतीय रूपैयाँको कारोबारमा वृद्धि भएको हुन सक्ने उनको अनुमान छ । यसलाई नियन्त्रण गर्न र विशेषगरी चाडपर्वमा यस्ता खालका अवैध कारोबारमा वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा चेकजाँचलाई पनि कडा बनाइएको उनले बताए ।