पारस खड्काको टिम विराटनगर बन्यो ईपीएल च्याम्पियन «

पारस खड्काको टिम विराटनगर बन्यो ईपीएल च्याम्पियन

पारस खड्काको टिम विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगरले ईपीएल क्रिकेटको उपाधि जितेको हो ।
टी–२० क्रिकेटमा १ सय ५० रनको मध्यम लक्ष्य अनि एकै ओभरमा खर्चिएको ३६ रन ! कुनैपनि टिमलाई खेलमा फर्कने कठिन परिस्थिति भए पनि पारस खड्का नेतृत्वको विराटनगरले ईपीएल क्रिकेटको उपाधि जितेको हो ।
प्रतियोगिताको एकमात्र अपराजित टोली विराटनगरले ईपीएल क्रिकेटको उपाधिमाथि कब्जामात्र जमाएन, कप्तान खड्का शनिबारको रोमान्चक फाइनल खेलका म्यान अफ दि म्याच पनि घोषित भए ।१ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाको सुरुवात निकै राम्रो भए पनि आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको थियो ।
दोस्रो ब्याटिड गरेको भैरहवाका कप्तान शरद १५औं ओभरको पहिलो बलमै रन आउट भएपछि विराटनगर खेलमा फर्कियो । अन्तिम २ ओभरमात्र ११ रन चाहिएको हुनाले भैरहवाको जितको सम्भावना कायमै थियो ।
तर, विराटनगर वारियर्सका कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवा दबाब थपियो । तैपनि अन्तिम ओभरमा ९ रन चाहिँदा भेषावकरको टिम भैरहवाले ३ विकेट गुमाएर ४ रनमात्र जोड्न सक्यो । अन्तमा विराटनगरले एक रनको नाटकीय जित हात पार्यो ।
विराटनगरको जितमा कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार साह र करण केसीले २–२ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि ओपनर अंशुमान राथले ४ चौका र १ छक्काको मद्दतमा ४१ रन जोडेका थिए भने कप्तान पारसले २२ बलमा १ चौका र २ छक्काको मद्दतमा २७ रन बनाए । अनिल साहको २२ र प्रनित थापामगरको १४ रन पनि विराटनगरको जितका लागि महत्वपूर्ण सावित भयो ।

प्रतिक्रिया दिनुहोस्