Logo

पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी

पोखरा-पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको छ । पोखरामा पर्यटनको प्रचुर सम्भावना देखेर गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस्तो तयारी गरेको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा पर्यटन परिषद्को हालै सम्पन्न भएको १८ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन सत्रमा संघीय सरकारबाटै आगामी मंसिर मसान्तभित्रमा पोखरालाई पर्यटनको राजधानीको रूपमा घोषणा गर्ने गरी गृहकार्य सुरु भएको बताए । “पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माण गर्नुपर्छ, त्यसतर्फ हामी लागि रहेका छौं,” उनले भने, “सातै प्रदेशको सम्मेलन गरेर गण्डकी प्रदेश सरकारको तर्फबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव गर्ने र सबैको सहमतिमा पारित गरे पश्चात राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने योजना छ ।”
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पोखरामा आवश्यक पूर्वाधार निर्माण भएमा चौविसै घण्टा खोल्न आफूहरू तयार रहेको बताए । “पर्यटन क्षेत्रमा देखिएका विकृति, विसंगति हटाएर पोखरा सुरक्षित छ भन्ने सन्देश दिन सकेमा र व्यवसायीको चाहना भएमा हामीले पोखराका कुनै निश्चित ठाउँलाई २४ सै घण्टा खुलाउन सक्छौं ।”
गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रूपमा प्रचार गर्नुपर्ने बताए । परिषद्का अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष अशोक पालिखे, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलगायतले पोखराको पर्यटन प्रबद्र्धनमा सवै एक हुनुपर्ने बताए ।
यसैबीच पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेलको निर्वाचित भएका छन् । परिषद्को १८ औं साधारणसभा तथा १० औं अधिवेशनबाट पोखरेल सर्वसम्वत रूपमा निर्वाचित भएका हुन ।
परिषद्को उपाध्यक्षमा गोपीबहादुर भट्टराई, महासचिवमा डिल्लीप्रसाद गौतम, सचिवमा तारानाथ पहारी र सदस्यहरूमा कृष्णप्रसाद भण्डारी, रामजी घिमिरे, रामचन्द्र शर्मा चयन भएका छन् । परिषद्को पहिलो बैठकले तीन जना सदस्यबाट एक जनालाई कोषाध्यक्षका लागि मनोनित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्