चियाको समस्या अध्ययन गर्न कार्यदल गठन «

चियाको समस्या अध्ययन गर्न कार्यदल गठन

कार्यदलले कार्य प्रारम्भ भएको दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

विगत लामो समयदेखि चिया क्षेत्रमा देखिएको समस्या हल गर्ने लक्ष्यसहित सरकारले सरोकारवालाको संलग्नतामा उच्चस्तरिय अध्ययन कार्यदल गठन गरेको छ ।
चियालाई व्यावसायिक उद्यमको रूपमा विकास गर्न बनेका कानुनी, संस्थागत र संरचनागतलगायतका समस्या समाधान गर्न सरकारले कार्यदल गठन गरेको हो । नेपाली चियाको आन्तरिक समस्या कारण अन्तर्राष्ट्रिय बजारको माग अनुसार निर्यात बढ्न नसकेपछि सरोकारवालाको सुझावमा सरकारले अध्ययन कार्यदल गठन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा सम्बद्ध संघीय मन्त्रालय र प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय, ट्रेड युनियन, नेपाल उद्योग वाणिन्य महासंघ, नेपाल चिया उत्पादक संघका प्रतिनिधि रहने कार्यदल गठन गरिएको हो ।
विद्यमान कानुनी, संस्थागत तथा व्यवहारिक समस्या, चिया व्यवसायी तथा श्रमिकका चासो र सरोकारलाई समेत ध्यान दिई आगामी दिनमा नेपाल सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधारसमेत समेटी प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । कार्यदलले कार्य प्रारम्भ भएको दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
चिया उद्योगी, साना किसान, मजदुर र व्यवसायीका आ–आफ्नै समस्याका कारण नेपालमा माग अनुसार चिया उत्पादन हुन सकेको छैन । सरोकारवालाले चिया उत्पादनमा मजदुर, कृषक, उद्योगी र उत्पादनको गुणस्तरको समस्या रहेको बताउँदै आएको वर्षौंपछि सरकारले कार्यदल गठन गरेको हो । चिया खेती गर्नेका लागि मल, बिषादी, गुणस्तर, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, श्रमिक र मूल्यलगायतका समस्या रहेका छन् ।
नेपालमा चियालाई व्यावसायिकरूपमा देशभर नै उत्पादन गर्नुपर्छ भनेर २०५७ सालमा राष्ट्रिय चिया नीति बनेको थियो । त्यो नीतिमा धेरै पक्ष राम्रा भए पनि समयअनुसार परिमार्जन गर्न नसक्दा समस्या आएको सरोकारवालाहरूको भनाइ छ । चियामा सबैभन्दा ठूलो समस्या भनेकै समयमा सरकारले नीतिगत व्यवस्था गर्न नसक्नु नै हो । चियामा समस्या हुँदैहुँदै पनि प्रदेश नं. १ मा चियाको उत्पादन ९८ प्रतिशत खेती हुने भएकाले चिया पकेट प्रदेशको रूपमा घोषणा गरी सोही अनुसारको सुविधा दिनुपर्ने व्यवसायी भनाइ छ । चियामा समस्या भए पनि झापामा मात्र उत्पादन हुने सिटीसी चियाको अन्तर्राष्ट्रिय बजार राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्