पर्यटकलाई २ हजार होटलमा २० प्रतिशत छुट «

पर्यटकलाई २ हजार होटलमा २० प्रतिशत छुट

काठमाडौं-हवाई मार्गबाट आउने पर्यटकलाई देशभरका २ हजार होटलमा तीन दिनसम्म २० प्रतिशत छुट दिइने भएको छ । होटल संघ नेपाल (हान) ले विश्व पर्यटन दिवस २०१८ सेप्टेम्बर २७ का दिन नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि सम्पूर्ण सदस्य होटलबाट खानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

हानमा आवद्ध २ हजारभन्दा बढी होटलले तीन दिनसम्म खानामा २० प्रतिशत छुट दिने छन् ।
–विनायक शाह
महासचिव, हान

“हानमा आवद्ध २ हजारभन्दा बढी होटलले तीन दिनसम्म खानामा २० प्रतिशत छुट दिने छन्,” हानका महासचिव विनायक शाहले भने । उनका अनुसार हवाई मार्गबाट आउने पर्यटकले उक्त सुविधा पाउने छन् । विश्व पर्यटन दिवसको दिनमा केही सकारात्मक प्रचारका लागि छुट दिन लागेको महासचिव शाहले जानकारी दिए ।
सेप्टेम्बर २७ का दिन नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित काउन्टरबाट उक्त दिन पहिलोदेखि अन्तिम उडानबाट आउने सम्पूर्ण विदेशी पाहुनालाई २० प्रतिशत छुटको कुपन वितरण गरिनुका साथै पहिलो फ्लाइटबाट आउने पहिलो तीन जनालाई विशेष सम्मान गरिने शाहले बताए ।
सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौं मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको छ । पर्यटकबाट धेरै अगाडिदेखि नै होटलको कोठा बुकिङ गरेर मात्र आउने भएको हुँदा यो सुविधा खानामा मात्र दिइएको हो । हानमा २ हजार भन्दा बढी होटल आवद्ध छन् । 
विदेशी पाहुनालाई नेपालप्रति बढ्दो मोह जगाउनका साथै बसाइ सुखद् बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले यो छुटको व्यवस्था गरिएको महासचिव शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्