परीक्षार्थी चापले होटल भरिभराउ «

परीक्षार्थी चापले होटल भरिभराउ

इलाम-पर्यटकीय जिल्ला इलाम सदरमुकाममा रहेका सवै होटल भरिभराउ भएका छन् । शिक्षकसेवा आयोगको परीक्षाका कारण यहाँका होटल भरिभराउ भएका हुन् । शिक्षक सेवा आयोगको परीक्षा दिन आउने एक चौथाई परीक्षार्थी इलाम नआइपुग्दै होटलहरू भरिएपछि बाहिरबाट परीक्षा दिन आउने परीक्षार्थी चिन्तित भएका छन् ।
पाँचथर र ताप्लेजुङका परीक्षार्थीले इलामबाट परीक्षा दिने छन् । सदरमुकामभित्रका होटल भरिएपछि बाहिरबाट आएका पर्यटकसमेत अटाउन नसकिने स्थिति देखिएको छ ।
जिल्लामा क्रियाशील नेपाली कांग्रेसको भ्रात संगठन नेपाल विद्यार्थी संघ र नेपाल कम्युनिष्ट पार्टीका भ्रातृ संगठनहरू अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले हेल्प डेक्स नै राखेर सेवा प्रदान गरिरहेका छन् । होटलहरू भरिएसँगै नजिकै रहेको बालनगाउँ होमस्टेमा पनि पर्यटक तथा परीक्षार्थीलाई पठाइको छ । यहाँ बस्न र खानका लागि होटलहरू नपाइएको बाहिरबाट आएका परीक्षार्थीको गुनासो छ । अन्तरजिल्ला परीक्षा भएका कारण पनि समस्या भएको परीक्षार्थीको भनाइ छ ।
शिक्षक सेवा आयोगको परीक्षा दिन प्राविका लागि मात्र ४ हजार ४१ जनाले फारम भरेको जिल्ला शिक्षा समन्वय इकाई इलामले जानकारी दिएको छ । त्यस्तै निमावि र माविका लागि पनि विषयगत रूपमा करिव तीन हजार गरी करिव सात हजार परीक्षार्थी इलाम आउने छन् । तर १५ सय परीक्षार्थीलाई राख्दै होटलहरू भरिएपछि कहाँ राख्ने भन्ने चिन्ता छाएको छ । परीक्षा ११, १२ र १३ गते हुँदैछ ।
इलाममा विगत वर्ष पनि यो भन्दा बढी परीक्षार्थी अटाइएकाले यस वर्ष समस्या नहुने होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले वताए । उनले सवैलाई समेटेर राख्ने व्यवस्था गरिने बताए । अहिले होटल र होमस्टे मात्र हैन यहाँ ब्यक्तिका घरमा समेत सहकार्य गरेर पर्यटक तथा परीक्षार्थीलाई राख्न सुरु गरिएको छ । नजिकै रहेका घरसमेत भरीएर बजारभन्दा चार, पाँच किलो मिटर टाढासम्म पहुना राखिएको उनले वताए ।

प्रतिक्रिया दिनुहोस्