बेलायती सेन्ट्रल हिटिङ हट वाटर सिस्टम नेपालमा «

बेलायती सेन्ट्रल हिटिङ हट वाटर सिस्टम नेपालमा

पोखरा-पोखराका दुई जना युवाले बेलायतको प्रविधि सेन्ट्रल हिटिङ हट वाटर सिस्टम भित्र्याएका छन् । विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएका पोखराका धनु थकाली र जगत गुरुङले बेलायतमा दुई सय वर्षदेखि प्रयोग हुँदै आएको सेन्ट्रल हिटिङ हट वाटर सिस्टम नेपालमा भित्र्याएका हुन् ।
दुई वर्षदेखि नेपालमा उक्त सिस्टमको परीक्षण गर्दै आउने क्रममा सफल परीक्षण भएसँगै आफूहरूले उक्त प्रविधिसँगै व्यवसाय सुरु गर्न लागेको धनु थकालीले बताए । चिसो मौसममा विषेशगरी वालबालिका र वृद्धवृद्धाका लागि आवश्यक पर्ने कोठामा तातो पन र तातोपानीका लागि उक्त सिस्टम अति नै उपयुक्त हुने थकालीले दाबी गरे । “आर्थिक हिसावले केही महंगगो भएपनि, वितारै यसको उपयोगिता बढ्दै जाने भएकाले धेरैलाई मूल्य ठीकै लाग्नेछ,” उनले भने, “यसको जोखिम खासै धेरै नभएकाले विदेशमा बढी नै प्रयोग भएको पाइन्छ, यसको प्रयोग अब नेपालमा पनि भित्र्याउन हामी लागेका छौं ।”
एलपी ग्याससहित दुई वटा पानी तताउन र दुई वटा कोठा तताउनका लागि उक्त सिस्टममा पाइप जडान गरिएकाले आवश्यकताअनुसारको तापक्रम बढाउन वा घटाउन सकिने सिस्टम रहेको थकालीले जानकारी दिए । सामान्यतया ४ वटा अत्याधुनिक सेन्ट्रल हिटरको मेसिन किन्दा करिब ३ लाख लाग्ने उनले जनाए । एउटा कोठामा एउटा मात्र उक्त सिस्टम जडान गर्दा करिब दुई लाख रूपैयाँ लाग्ने थकालीले जानकारी दिए ।
धाराको पानीमा उक्त मेसिनको सिस्टमले सेन्सरको रूपमा पानी तताउने गर्दछ भने मेसिनभित्र करिब ५० लिटर पानी हुन्छ । उक्त मेसिनभित्र आगो बल्ने भएकाले पंखाले पानी घुमाउँदै त्यसले तताएर कोठा नै तताउने गर्दछ । वातावरणीय तथा स्वास्थ्यका दृष्टिले समेत उपयुक्त उक्त सिस्टम नेपालका होटल तथा बिरामी एवं चिसो मौसममा बढी उपयोगी हुन सक्ने उनले जनाए ।
बेलायतको उक्त सिस्टमलाई चीनबाट आफूहरूले मेसिन भित्र्याउँदै नेपालमा यसको व्यवसाय सुरु गर्न लागेको थकालीले बताए । दैनिक ४ घण्टा उक्त सिस्टमबाट कोठा वा पानी तताउन मेसिन सञ्चालन गर्दा एउटा १४ केजीको एलपी ग्याँस खपत हुने गर्दछ । पोखरामा व्यवसायी अशोक पालिखेले उक्त प्रविधि प्रयोग गरिसकेका छन् । पालिखेरेले नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजमा उक्त प्रविधि जडान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्