बिमाको पहुँच बढाउन प्रविधि प्रयोगमा जोड «

बिमाको पहुँच बढाउन प्रविधि प्रयोगमा जोड

बिमाको पहुँच बढाउन र यसको लागत घटाउनका लागि प्रविधिमा आधारित भई सेवा दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बिमा कम्पनीहरूले परम्परागत रूपमा काम गर्दा बिमा पोलेसी बिक्री, प्रिमियम संकलन, दाबी भुक्तानीलगायतका प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएको भन्दै यसलाई घटाउनका लागि प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।
विकासशील राष्ट्रहरूको बिमा तथा पुनर्बिमा कम्पनीहरूको २१ औं सम्मेलनमा बुधबार कार्यपत्र राख्दै बिमा विज्ञ जिम्मी मोलिनियरले प्रविधिको प्रयोगबाट बिमा योजना जारी गर्नेदेखि समयमा दाबी भुक्तानी गर्न, बिमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए । कम विकसित राष्ट्रहरूमा प्रविधिको प्रयोग गर्दा अवरोधहरू पनि कम भन्दै उनले यस्ता राष्ट्रहरूले प्रविधिको प्रयोगमा केन्द्रीत गर्न सुझाव दिए ।
यसैगरी भारतका विमा विज्ञ कल्पेश देसाइले बिमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागी बैंकसँग मिलेर काम गर्न सकिने बताए । “बैंकसँग सहकार्य गर्दै बैंकका एटिएम मेसिनलगायतका प्रविधिको प्रयोग गरेर बिमा कम्पनीको सेवा प्रभावकारी बनाउन सकिन्छ,” उनले भने ।
सम्मेलनमा लघुबिमा विषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुनर्बिमा कम्पनीमा डिर्क रिनहार्डले दिगो रूपमा गरिवी निवारणका लागि लघुबिमा प्रभावकारी हुने बताए । “लघुबिमाले मानिसलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाट बाहिर निस्केका मानिसलाई पुनः गरिबीमा नजान सहयोगी भूमिका खेल्न,” उनले भने । तर, लघुविमा सञ्चालनका लागि सञ्चालन खर्च अधिक हुने भएकाले मुख्य चुनौती भएको उनले बताए ।
फिलिपिन्सका लोरेन्ज हानले लघुबिमाका लागि विमितहरूको घरघरमा पुग्नुपर्ने भएकाले अन्य बिमाको तुलनामा यो चुनौतीपूर्ण रहेको बताए । यस्तो बिमा जारी गर्दा स्थानीय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने उनको जोड थियो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले नेपालमा लघुबिमाको सम्भावना र चुनौति बढी भएको बताए । “लघु बिमा लेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघुबिमा जारी गरिरहेका छौं,” उनले भने ।
यसैगरी सम्मेलनमा बिमा कम्पनीहरूको वित्तीय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा. रोगर शेल्लीजले एसियन मुलुकमा नेपाललगायत अन्य पाँच वटा मुलुकका कम्पनी जोखम अवस्थामा रहेको बताए ।
यसैगरी विकासशील देशहरूका नियमनकारी निकाय र बिमा कम्पनीहरूको संगठन एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआइआरडिसी) को मंगलबार भएको साधारणसभाले अध्यक्षमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई चयन गरेको छ ।
दुई दिनसम्म चलेको सम्मेलनमा विकासशील राष्ट्रका बिमा क्षेत्रमा समस्या, चुनौति र अवसरका बारेमा छलफल भएको छ । मंगलबारबाट सुरु भएको सम्मेलनले २२ औ सम्मेलन सन् २०२० मा घानामा गर्ने निर्णयसहित बुधबार समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्