तम्घासमा निःशुल्क स्वास्थ्य शिविर हुने «

तम्घासमा निःशुल्क स्वास्थ्य शिविर हुने

विश्व मुटु दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धको आयोजनामा गुल्मीको तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा २ दिने बृहत निःशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ । शिविरको उद्घाटन गृहमन्त्री रामबहादुर थापा (बादल) ले गर्ने लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धले राजधानीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
यस्तै सो शिविरमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, प्रदेशका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहने जनाइएको छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् वीर अस्पताल मुटुरोग विभाग प्रमुख प्रा.डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिनेशचन्द्र पोखरेल, वरिष्ठ जनरल फिजिसियन डा. रोशन कुमार झा, स्त्री तथा प्रसुती एवं परिवार नियोजन विशेषज्ञ डा. सौजन्य कर्माचार्य, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राकेश महर्जनलगायत चिकित्सकहरु सहभागीतामा स्वास्थ्य परीक्षण हुने छ ।
कुल ३० जनाको मेडिकल टिम रहने शिविरमा डा ओमप्रकाश पटेल, डा.दयानन्द शाह, डा. दृष्टि पौडेल, डा. सविता महर्जन, डा. शंकर पोखरेलगरी ५ जना मेडिकल अफिसर सहभागीता हुने छ । कार्डियोग्राम, ईसिजी, इन्डोस्कोपी, अल्ट्रासोनोग्राफी, ब्लड तथा सुगर जाँचका साथै युरिन र प्रोटिन जाँचलगायतका सामान्य प्याथोलोजी सेवा शिविरका अवसरमा दिइन लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । शिविरमा बिरामीका लागि चाहिले सबै औषधि निःशुल्क वितरण गरिने जनाइएको छ ।
शिविरमा मुटुको इसीजी, इको कार्डियोग्राम, अल्ट्रासाउन्ड, इन्डोस्कपी र प्याथलोजीसम्बन्धी सेवा निशुल्क उपलब्ध हुनेछ । सो शिबिरमा २ हजार जना सहभागी हुने अनुमान आयोजकको छ । विकासोन्मुख देशहरुमा मुटु रोग निकै ठूलो समस्याका रुपमा देखा पर्न थालेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्