निर्मला हत्याको अनुसन्धान शून्यबाट थाल्न आग्रह

दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका बारेमा नेपाल मानव अधिकार संगठनले तयार पारेको स्थलगत अनुगमन प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा उक्त संगठनले पत्रकार सम्मेलन गरेर सरकारी प्रतिवेदनको पूर्ण भरोसा नभएको भन्दै संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालको टिमले तयार पारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष अर्यालले निर्मला पन्त हत्याका दशी प्रमाणहरु नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग गरेका छन् । उनले भने, “निर्मला पन्त हत्या घटना नियोजित भएको कारण उक्त घटनाका सबै प्रमाणहरु नष्ट गरिएको हुँदा शून्यबाट अनुसन्धान थालिनुपर्छ । न्याय चाँडो पाउनुपर्छ, न्याय ढिलो पाउनुको कुनै अर्थ रहँदैन । निर्मलाको हत्या आशंका गरिएका व्यक्तिलाई प्रहरीले कुनै प्रकारको सोधीखोजी गरेको देखिँदैन ।”
उनले थपे, “आंशका गरिएका व्यक्तिलाई प्रहरीले भनिसियोस् भनेर बयान लिन्छ, साईकल भेटिएको ठाउँतिरै लास होला भन्ने बम दिदीबहिनीमाथि कुनै छानविन भएको छैन । प्रहरी प्रशासन, एसपी डिल्लिराज विष्ट, उनका छोरा, मेयरको भतिजा, नक्कली मामा बनेर निर्मलाको लास जलाउने तिर्थ भण्डारीमाथि प्रशासनले कुनै किसिमको छानविन गरेको छैन ।”
त्यस्तै संठगनका महासचिव महामुनीश्वर आचार्यले सरकारी अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजिनामा दिएर पुःन काममा फर्केपछि आफूहरु सशंकित बनेर आफूहरुले प्रारम्भिक अनुसन्धान गरेको जानकारी दिए ।