साताभरमा सेयर बजार ५२ अंकले घट्यो

लगातार ओरालो लागेको सेयर बजार गएको साता ५२ अंकले ओरालो लागेको छ । समूहगत रूपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै २८० अंकले ओरालो लागेको छ । व्यापारबाहेक कुनै पनि समूह उकालो लागेका छैनन् ।
आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन, तर सरकार गठन भएको खण्डमा लगानीकर्ता उत्साही भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागिसकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७१५३ कारोबारबाट दुई अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका ५७ लाख २५ हजार दुई सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४.०१ प्रतिशत बढी हो । गत साता १७७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४६५५ कारोबारबाट दुई अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.९० अंकले घटेर अन्तिम दिन १४१४.७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.३९ अंकले घटेर २९७.६२ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (५० करोड ३६ लाख ६० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ४८ हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (४६९३ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।