ब्लडमनी तिरेर फर्के दिलबहादुर «

ब्लडमनी तिरेर फर्के दिलबहादुर

६७ लाख रुपैयाँ ब्लडमनी तिरेपछि साउदी अरेबियामा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्ती स्वदेश फर्केका छन् । दिलबहादुर घर्ती बचाउ अभियानले पत्रकार सम्मेलन गरेर घर्तीलाई परिवारसँग मिलन गराएको छ ।
रोल्पा नगरपालिका १० थवाङ पेवा गाउँका ३० वर्षीय घर्ती दुई वर्षअघि साउदीको राजधानी रियादमा दुर्घटना मुद्दामा जेल परेका थिए । गत भदौ २१ गते जेलमुक्त भएका घर्ती उद्धारको लागि ६७ लाख ब्लडमनी तिरेको अभियानका संयोजक दीपेश पुनले जानकारी दिए । ब्लडमनि तिरेको ३७ दिनपछि घर्ती गत शनिबारमात्रै नेपाल आइपुगेका हुन् । दिलबहादुर रियादस्थित मजेद अलदियाबही कन्ट्राक्टिङ एण्ड इस्ट नामक कम्पनीमा ट्रकचालकको रुपमा कार्यरत थिए ।
उद्धार गरेका घर्ती भन्छन्, “साउदी पुगेको ३ महिनामै (२०१६ जुन १३) का दिन मैले चलाउँदै गरेको ट्रकमा साउदी नागरिक मोटेबबिन अतिखबिन दअफाको कारले पछिबाट ठक्कर दियो । मैले भाषा बुझिन, मलाई फसाइयो । साउदी नागरिकको मृत्यु भएपछि जेल चलान गरिएको थियो, जेलभित्र कुटपिट त हुँदैन थियो तर निक्कै नै पीडा हुँदो रहेछ ।”
उनले अघि थपे, “साउदी नागरिक मृत्यु अभियोगमा त्यहाँको अदालतले ७५ प्रतिशत गल्ती तिम्रै हो भनेर फैसला गरिदियो । अदालती फैसलाबमोजिम उरियादमा बन्दी जीवन बिताइरहेको थिएँ । अदालतले तोकेको ब्लड मनी साउदी रियाल २ लाख २५ हजार सम्बन्धित मृतकको परिवारलाई तिरे मात्र रिहाइ हुने अवस्था थियो । यति धेरै रकम मेरो परिवारले केही गरी पनि तिर्न सक्ने ल्याकत थिएन । आर्थिक अवस्था कमजोरका कारण नेपाली रकम ६७ लाख रुपैयाँ तिर्न नसक्दा जेलमै रहनु परिरहेको समाचार सार्वजनिक भएपछि मलाई कैदमुक्त गर्न ब्लड मनी संकलन सुरु गरिएको थियो ।”
थुप्रै नेपालीहरु भाषा नबुझेर विदेशको जेलमा रहेको भन्दै उनले उनीहरुको उद्धारमा गम्भिर हुन सरकारलाई आग्रह गरे ।

बचेको रकम राज्यकोषमा
उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको संयोजकत्वमा ४१ सदस्यीय दिलबहादुर बचाउन ब्लड मनी संकलन अभियान समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरिएको थियो । संयोजक पुनका अनुसार १ करोड ४ लाख २६ हजार रुपैयाँ ब्लड मनी संकलन भएको थियो । आवश्यकता भन्दा ३७ लाख २६ हजार रुपैयाँ बढी रकम उठेको हो ।
उनले भने, “साउदीकै जेलमा रहेका गोरखका कुमार राना र दिलबहादुर घर्ती बचाउ अभियान एकसाथै सञ्चालन गरिएपनि उनी जेलमै रहेका छन् । यो अभियानबाट बचेको रकम कुमार रानाको उद्धारको लागि अपुग रकम प्रदान गर्ने भनेका छौं । तथापि उहाँको नाममा उठेको रकम पुगेको सन्दर्भमा यो रकम विदेशी जेल तथा विभिन्न दुःखमा पीडित नेपालीहरुको सहयोग गर्नेछौं ।”

प्रतिक्रिया दिनुहोस्