एनआरएनए विज्ञ सम्मेलनमा ४ सय सहभागी हुने «

एनआरएनए विज्ञ सम्मेलनमा ४ सय सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा गर्न लागेको प्रथम विश्व विज्ञ सम्मेलनमा ४ सयभन्दा बढी सहभागी हुने भएका छन् । कार्यक्रम संयोजक डा. हेमराज शर्माले विदेशमा कमाएको पुँजीमात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना हुन लागेको जानकारी दिए । “विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पु-याउने एनआरएनको उद्देश्य नै हो,” शर्माले भने, “हामी यसलाई कार्यान्वयनको चरणमा पु-याउन चाहन्छौं ।” विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुनेछ । वैदेशिक रोजगारीमा जाने र अध्ययन–अध्यापनको क्रममा विदेशमा रहेका नेपालीहरूले सिकेको सीपलाई सरकार र एनआरएनएले प्रयोगको उपयुक्त वातावरण बनाउनुपर्छ भन्ने सोचका साथ सम्मेलन आयोजना भएको सम्मेलनका अर्का संयोजक तथा एनआरएनएका उपाध्यक्ष कुमार पन्तले बताए ।
सम्मेलनको पहिलो दिन साझ प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन र दोश्रो दिन चारवटा प्लेनरी सत्र रहेको छ । पहिलो सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुनेछ । दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको संभावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा समेत छलफल हुनेछ ।
दोश्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरीङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी, जोखिम न्यूनिकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाईनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतमा छलफल गर्ने कार्यक्रम छ । तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ ।
सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्शको कार्यक्रम रहेको छ । सम्मेलनका सबै विषयहरु आम जनजिविकासँग जोडिएको हुने आयोजकले बताएका छन् । यसका साथै सरकारका विकास प्राथमिकता पारेका विषय पनि सम्मेलनका छलफलका विषय हुने जनाइएको छ ।
कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदूषण न्यूनीकरण, व्यवस्थित शहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि विषयमा सम्मेलनमा छलफल हुने डा. शर्माले बताए । सम्मेलनमा नेपालभित्र र बाहिर रहेका विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञलगायत सबै क्षेत्रका विज्ञको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्