Logo

मृत्युको कारक बन्दै मदिरा

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मृत्युको एक कारणमध्ये मदिरा सेवन देखिन थालेको छ । वैदशिक रोजगारमा गएका मध्ये अधिकांश मृत्युको कारणमा मदिरा कुनै न कुनै रुपमा जोडिने गरेको छ । सोझैं मदिराकै कारण मृत्यु हुनेको संख्या जति छ, त्यति नै मदिराजन्य दुर्घटनाबाट हुने मृत्यु र घटना हुने गरेका छन् ।
मदिराका कारण एकआपसमा झगडा गरेपछि हुने मृत्यु र सोसँग सम्बन्धित दुर्घटनामा मानविय क्षति बढ्दो छ । पछिल्लो समयमात्र मलेसियामा विषाक्त मदिरा सेवन गरेकै कारण एकै समय ९ नेपालीको मृत्यु भएको छ । मलेसियास्थित नेपाली राजदूतावासले मदिरा सेवनपछि हालसम्मकै सबैभन्दा बढी नेपालीको मृत्यु भएको पहिलो घटनाको रुपमा यसलाई लिएको जनाएको छ । मलेसियामा मात्र होइन, मदिराकै कारण मृत्यु र दुर्घटनामा पर्ने नेपालीको संख्या मदिरा प्रतिबन्ध गरिएका खाडी राष्ट्रमा पनि बढ्दो छ ।

 खाडीमा पनि मदिराजन्य मृत्यु
खाडीका अधिकांश देशमा रक्सी प्रतिबन्धित वस्तु हो । रक्सीको सेवन र ओसारपसारलाई कानुनमा कडा सजायको व्यवस्था छ । तर, नेपाली कामदारको मृत्युको एउटा प्रमुख कारणका रूपमा मादक पदार्थ सेवन हुन थालेकोे छ । नेपाली कामदारको बाहुल्यता रहेको खाडी मुलुकमा प्रायः कम आयस्रोत भएका श्रमिकका लागि मादक पदार्थ खरिद र सेवन पूर्ण रूपमा बर्जित छ । नेपालमा जस्तो सर्वसुलभ तरिकाले खाडी मुलुकमा मादक पदार्थ किन्न र सेवन गर्न पाइँदैन । त्यसैले रक्सीजन्य पदार्थबाट हुने हानी र दुर्घटना कम नै होला भन्ने सोच राखिन्छ । तर, त्यस्तो अवस्था छैन सबै खाडी मुलुकमा ।
४ लाख नेपाली भएको यूएईमा पनि मादक पदार्थ सेवनको कुलतमा फसेर विभिन्न अपराधका अभियोग लाग्ने क्रम बढिरहेको छ । मादक पदार्थ सेवन गरी अपराध अभियोगमा धेरै नेपाली यूएईको जेलमा सजाय काटिरहेका छन् । नेपाल सरकारको निकायले नै सार्वजनिक गरेको एक प्रतिवेदनमा रक्सीका कारण हुने मृत्यु बढ्दै गइरहेको जनाएको छ । गत वर्ष यूएईको आबुधाबीस्थित नेपाली दूतावासले तयार गरेको प्रतिवेदनमा मादक पदार्थ सेवनका कारण कामदारको मृत्यु दर बढ्दै गइरहेको देखाएको छ ।
नेपाली कामदार मदिराजन्य अपराधमा जेल पर्ने र मृत्यु हुने क्रम बढेपछि दूतावासले समेत चिन्ता व्यक्त गरेको छ । दूतावासले प्रतिकूल अवस्थामा मादक पदार्थ सेवन नगर्न समेत कामदारलाई सुझाव दिइएको छ । नेपाली नागरिक मदिराका कारण विभिन्न समस्यामा पर्न थालेपछि सचेतना कार्यक्रम नै गर्न दूतावास बाध्य भएको छ । २ वर्षको तथ्यांक हेर्ने हो भने नेचुरल डेथ (प्राकृतिक मृत्यु)मा मदिरा सेवनका कारण मृत्यु हुने तेस्रो स्थानमा रहेको छ । २ वर्षमा मात्र यूएईमा ९ नेपाली कामदारको अधिक रक्सी सेवनपछि मृत्यु भएको छ । आर्थिक वर्ष ०७१-०७२ मा दुई जना र ०७२-०७३ मा ७ जना नेपाली कामदारको मृत्यु भएको थियो । मदिरा सेवनका कारण हुने मृत्युको संख्या एक वर्षको अन्तरालमा बढेको देखिन्छ ।
नेचुरल डेथ भनी पोस्टमर्टम रिपोर्ट आएका मध्ये २१.८ प्रतिशत मृत्यु रक्सी सेवनका कारण हुने गरेको छ । मदिराजन्य अपराधका कारण ३४ नेपाली यूएईका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका छन् । गत वर्ष मात्र सबैभन्दा बढी नेपाली अलवाजाब जेलमा १५ जना मदिराजन्य अपराध अभियोगकै कारण सजाय काटिरहेका छन् । त्यसैगरी अलअइन जेलमा ९ जना, यूएक्युमा ५ जना, अलअविरमा ४ जना र फुरी जेलमा २ जनाले मदिराजन्य अपराध अभियोगमा सजाय काटिरहेका छन् । यसरी मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा ४ जना नेपालीले जेल सजाय भोगिरहेका छन् । त्यसैगरी मादक पदार्थ सेवन गरी झगडा गरेको अभियोगमा पनि ४ नेपालीले २ वटा जेलमा सजाय भोगिरहेका छन् ।
मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत नेपालीसहित अन्य देशका गरी ५१ जना विभिन्न ब्रान्डका विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना गरिएका मध्ये बुधबारसम्म ६ नेपालीसहित भारत, म्यानमार, बंगलादेशका १९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुने नेपालीमा बसेरी–३ धादिङका भिमबहादुर घले, मसिना–५ रुपन्देहीका राम कुमार यादव, अमरगढी –५ डडेल्धुराका बिशाल बुढाथोकी, पश्चिमकुसाह–९ सुनसरीका सञ्जय उराब, सिद्धिथुम्का–९ इलामका बलबशादर कुलुंग, पत्थरकोट ६ सलाहीका आईत सिंह गोले, ठेगाना नखुलेका सुकुवल घिसिङ र नाम नखुलेका १ जना रहेका छन् । हाल उपचारार्थ भर्ना भएका नेपाली मध्ये आईसीयुमा राखिएका ३ नेपालीको अवस्था गम्भिर रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । उपचारमा रहेका मध्ये १ जनाको स्वाथ्य स्थिर, ७ जनाको सुधारोन्मुख र ५ जना उपचारपछि कम्पनी फर्किएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन । यसैगरी मृतकहरूको शवलाई यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । घटनाको अनुसन्धानका लागि सेलांगोर राज्यको प्रहरीले उच्चस्तरिय छानवीन समिती गठन गरेर उत्पादक र केही विक्रेतालाई पक्राउ गरिएको छ । मृतक र अस्पताल भर्ना भएका कामदारले विभिन्न क्षेत्रमा रहेका पसलबाट ३ वटा ब्रान्ड मान्डालाय ह्स्किी, किंगफिसर बियर र ग्रान्ड रोयर ह्स्किी सेवन गरेका थिए ।

 मलेसिया नै धेरै मृत्यु
वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अन्य श्रम गन्तव्यमध्ये मलेसियामा धेरै नेपालीको मृत्यु हुने गरेको छ । गत आवमा सबैभन्दा बढी २८९ नेपाली युवाको मृत्यु मलेसियामा नै भएको थियो भने दोस्रोमा साउदी अरब २०३ र कतार १२३ जना रहेका थिए । तर विगत ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतार ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरब २ लाख ५३ हजार गएको देखिन्छ । यसरी हेर्दा धेरै कामदारको भएका देशमा मृत्युदर कम देखिएकोे छ भने थोरै कामदार रहेका देशमा मृत्यु भएको देखिन्छ ।

कसरी बच्ने विदेशमा ?
प्रतिकूल अवस्थामा रक्सी सेवन नगर्ने
शरीर लठ्याउने वस्तु तथा अखाद्य पदार्थ सेवन नगर्नेमौसमअनुसारको जीवनशैली अनुसरण गर्ने
पर्याप्त पानी पिउने 
कोठाको तापक्रम, भेन्टिलेसन र एसी उचित बिन्दुमा राख्ने 
मौसम परिवर्तनका बारेमा सचेत रहने 
विश्वासिलो स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गराउने ।
सडक पार गर्दा ट्राफिक चिन्हको पालना गर्ने
जोखिमपूर्ण क्षेत्रमा काम गर्दा सुरक्षा उपकरण प्रयोग गरी सचेत रहने 
कुनै पनि बहानामा मदिरा नपिउने


राजनप्रसाद श्रेष्ठ
कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड
विदेशमा पछिल्लो समय मदिरा सेवन गरेर नेपाली कामदारको मृत्यु भएको दुखद खबर आइरहेको छ । विदेशमा विशेषगरी नेचुरल डेथ, हृदयाघात, बिरामी भएर मृत्यु हुनेको संख्या बढी छ । यसरी नै खबर आएअनुसार बिषक्त मदिरा पिएर मलेसियामा धेरै नेपालीको मृत्यु भएको देखिन्छ । यस्ता घटना हुनुमा दुबै पक्षको कमजोरी रहेको देखिन्छ । परिवारका लागि भनेर गएको नेपाली मदिराको कुलतमा जानु नै कामदारको पनि कमजोरी रहेको देखिन्छ । विदेश गएको कामदारले पनि जिम्मेवार भएर सोच्नुपर्ने देखिन्छ । यसरी हेर्दा अब सरकारले दिने अभिमुखिकरण तालिमको शैलीलाई परिवर्तन गरेर यस्ता घटनाका बारेमा जानकारी दिनेगरी व्यवस्थापन गर्नुपर्ने देखिन्छ । किनभने यस्ता कुरा गर्नु हुँदैन भन्ने कुरा बुझ्ने गरी भन्न सकिएन कि भन्ने पनि रहेको छ । मानविय तरिकाले बिरामी र दुर्घटनाका बारेमा पूर्व जानकारी दिने कुरा प्रभावकारी बनाउनुपर्ने देखिन्छ । वैदेशिक रोजगारी जाने व्यक्ति, पठाउने र त्यहाँको सरकार र नेपाली नियोग पनि यस्ता विषयमा सचेत हुनुपर्ने देखिएको छ । रोजगारदाता पनि आफ्ना विदेशी कामदारको स्वास्थ्य सुरक्षाका बारेमा सचेत हुनुपर्ने देखिएको छ । मलेसियामा मृत्यु भएका ९ जना मध्ये मृतकको एक परिवारबाट मात्र शव झिकाइदिन भनेर निवेदन प्राप्त भएको छ । बिशाल बुढाथोकीको डडेलधुराबाट निवेदन परेको छ । यो भन्दा पनि हालै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीज्युबाट परराष्ट्र मन्त्रालयमार्पmत् उपचार शब झिकाउन अनुरोध भएको छ । उपचारमा रहेका नेपालीको पनि राम्रो स्वास्थ्य उपचारका लागि पहल भएको छ । अब बोर्डले नियमअनुसार शव नेपाल आएपछि गृहजिल्ला पठाउने काम गर्ने छ । श्रम अवधिभित्र मृत्यु भएका नेपाली कामदारको ७ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने र छात्रवृत्ति प्रदान गर्ने लगायतका सहयोग बोर्डले दिने गरेको छ । 

 २०६५ साउनदेखि २०७५ असोजसम्म विदेशमा मृत्यु भएका नेपाली

 मृत्युको कारण             पुरुष                महिला        जम्मा

प्राकृतिक मृत्यु              १४७२                २७           १४९९
कार्डियाक एरेष्ट             १२३१               १०            १२४१
सडक दुर्घटना                ९३३                १८            ९५१ 
आत्महत्या                   ७५३                ५२            ९६१
हृदयघात                     ५६३                १५            ५७८
अन्य                        १७६०                ३१           १६३५
जम्मा                       ६७१२               १५३           ६८६५
स्रोत : वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड

 

प्रतिक्रिया दिनुहोस्