आजआर्जन वृद्धिमा मठमन्दिरको महत्व «

आजआर्जन वृद्धिमा मठमन्दिरको महत्व

पौराणिक कालदेखि महत्वपूर्ण भनिएका स्थलहरू अहिलेको पुस्ताका लागि अझ महत्वपूर्ण बनेका छन् ।

नेपालमा देशभर फैलिएर शिवालय र देवी स्थानहरू रहेका छन् । ती ठाउँहरू मुख्यतः आन्तरिक र छिमेकी भारतीय तथा थोरै मात्रामा विदेशी पर्यटकका गन्तव्य बनेका छन् । यस लेखमा ती ठाउँको महत्व र वर्तमान समयमा मानिसहरूका कारण भइरहेका विनाशका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।
विगतमा ससाना क्षेत्रका राजारजौटाले धेरै देवीदेवताका मठमन्दिर बनाएका भए पनि मूल रूपमा महादेव र कालीदेवीका स्थलहरू स्थापना गरेको पाइन्छ । तत्कालीन समयमा बस्तीदेखि टाढा एकान्त, शान्त, पानीको स्रोत, हरियाली, डाँडा र वन भएका स्थानमा यस्ता मठमन्दिर स्थापना गरिएका छन् । कतिपय अन्य सामान्य स्थानमा पनि रहेका छन् । तथापि ती स्थानको प्राकृतिक अवस्थापछि विनाश गरिएको वा स्वतः परिवर्तन भएको हुन सक्छ ।
पुराणका कथा र दन्त्य कथाहरूमा उल्लेख भएअनुसार देवीदेवताका क्रियाकलाप र उनीहरूले सम्बन्धित स्थानलाई दिएका महत्वको आधारमा राजा रजौटाहरूले मठमन्दिर स्थापना र स्थान संरक्षणको व्यवस्था गरेको पाइन्छ । धार्मिक हिसाबले शिवालय र माता देवी स्थानको महत्व फरक छ । देवी स्थानमा पशुपन्छी बलि चढाइन्छ भने शिवालयमा अन्य पूजाआजा गरिन्छ, तर अहिले पर्यटकीय र मनोरञ्जनका हिसाबले दुवै थरी स्थानको समान महत्व रहेको छ ।
हलेसी महादेव (खोटाङ), आशापुरी महादेव (भक्तपुर), मनकामना देवी (गोरखा) र डोरवाराही (तनहुँ) लाई यस्ता स्थलका प्रतिनिधि स्थलका रूपमा लिन सकिन्छ । अन्य गाउँ, सहर र जिल्लाबाट मानिसहरू दर्शन र भ्रमणमा पुग्ने स्थानहरूको बारेमा धेरैलाई थाहा हुन्छ । स्थानीयवासीले मात्र पुज्ने र मान्ने समेत गणना गर्दा यस्ता स्थल देशभर हजारौं रहेका छन् । कतिपय स्थल निश्चित जाति वा थरका मानिसले मात्र मान्दछन् ।
त्यस्ता धार्मिक स्थलहरूको संरक्षण गर्नु अहिले आस्तिक र नास्तिक दुवै थरीका लागि आवश्यक छ । शिवालय वा देवी स्थानमा पुग्दा शीतल र स्वच्छ हावा, मनोरम दृश्य, खुला स्थान, खोलाको कलकल, चराचुरुंगीको चिरबिर, जंगली जनावरको स्वच्छन्दता, घन्टको कर्णप्रिय आवाज, एकातिर हिमाल अर्कातिर सहर र बेसीको दृश्यावलोकन, कलात्मक ढुंगा, धातुहरू र काठबाट बनेका मन्दिरहरू, स्थानीयवासीको निश्छल, मेहनती र कर्मठ घाँसदाउरा, खेतीपाती, सेवाभाव, मौलिक रहनसहन र मुस्कानको वातावरणले आस्तिक र नास्तिक सबैलाई उत्तिकै न्याय प्रदान गर्छ ।
देवी देवताको आशीर्वाद लागोस् वा नलागोस्, यस्ता मठमन्दिरमा पुग्ने मानिसको रोगव्याधि, तनाव, पीर, व्यथा, विघ्नबाधा, रिसराग त्यसै कमजोर हुन्छ र मनोबल, आन्तरिक ऊर्जा र इच्छाशक्ति बढेर आउँछ । मानसिक र शारीरिक स्वास्थ्यका लागि यस्ता स्थानको भ्रमण र अवलोकन महत्वपूर्ण हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई मनमा शान्ति र मनोरञ्जन दिने यस्ता स्थलहरूको महत्व घट्न नदिन यसको प्राकृतिक अवस्थालाई स्थायित्व दिनु आजको चुनौती हो ।
कुन उद्देश्य र महत्वले निश्चित स्थानमा देवी स्थान र शिवालय बनाइएको हो, त्यो नबुझी आजभोलि बिनाअध्ययन हचुवाको भरमा सबै देवीदेवता एकै ठाउँमा राख्नुपर्छ, तीजमा नाच्न हुन्छ, पञ्चमी पूजा गर्न हुन्छ, व्रतबन्ध, विवाह गर्न हुन्छ, सबै देवीदेवताको पूजा एकै ठाउँ गर्न पाइन्छ, धेरै धाउनु पर्दैन भन्ने तर्कले अरू देवीदेवताको मूर्ति र मन्दिर, स्तूप, गुम्बा, चैत्य थप्ने गरिएको छ । त्यस्तै, आजआर्जन गर्नुपर्छ भन्दै पिकनिक स्पट थप गर्ने, मठमन्दिरको जग्गा र अन्य सार्वजनिक जग्गामा व्यापार–व्यवसाय सञ्चालन गराएर भाडा उठाउने जस्ता प्रवृत्ति मौलाउँदै गएका छन् ।
मन्दिरसम्मै पिच बाटो पु¥याउने, गाडी सञ्चालन गर्ने, जंकफुडका पसल खोल्ने, होटल खोल्ने कार्यहरू उचित मापदण्डबिना नै गरिएका छन् । मन्दिरको नजिकै गएर मन्दिर कता हो भनेर सोध्नुपर्ने स्थिति भइसकेको छ । हचुवाका भरमा थपिएका अन्य मन्दिर, व्यक्तिगत र सार्वजनिक घर–टहराले खुला स्थान मात्र होइन, पुराना मन्दिरहरू नै ओझेल परेका छन् । सार्वजनिक जग्गा अतिक्रमण गर्ने तथा मन्दिर व्यवस्थापन समितिसँग भाडामा लिने र व्यापार व्यवसाय गर्ने प्रवृत्ति छ ।
पिकनिक, भोजभतेर, कर्मकाण्ड, विवाह, व्रतबन्ध सबै कार्य गर्ने र सहरबजारको फोहोर देवी स्थान तथा शिवालयहरूमा लगेर विसर्जन गर्ने चलन चलिरहेको छ । बाटोभरि जंकफुड र सुर्तीका खोलले गर्दा पर्यटकले सुन्दर दृश्यसहितको तस्बिर खिच्दा भुइँ नआओस् भनेर सावधान हुनुपर्ने अवस्था छ । उकालोमा गाडीहरू चर्को हर्न लगाउँदै धूवाँको मुस्लो फालेर तीव्र गतिमा हुइँकिरहेका छन् । सहरको भीडभाड र प्रदूषणबाट टाढा शान्त सुरक्षित ठाउँमा पु¥याइएका बालबालिका र ज्येष्ठ नागरिक मन्दिरमा घण्टको मधुर ध्वनि सुन्न नपाई दायाँ र बायाँबाट बज्ने ट्याँटयाँ र टँुटुँ हर्नको आवाजले ज्यान जोगाउनमै चनाखो हुनुपर्ने अवस्था छ ।
पौराणिक कालदेखि महत्वपूर्ण भनिएका स्थलहरू अहिलेको पुस्ताका लागि अझ महत्वपूर्ण बनेका छन् । तिनको महत्व, स्वरूप र बनोटलाई बिग्रन नदिन केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार जाग्नुपर्छ । स्थलहरूको पहिचान, अभिलेखीकरण, अद्यावधिकीकरण, अनुगमन गर्ने कार्य सरकारी निकायले गर्नुपर्छ । न्यूनतम मापदण्डहरू बनाएर लागू गर्नुपर्छ । स्थानीयवासी र मन्दिर व्यवस्थापन समितिहरूले सरकारी मापदण्डको पालना तथा पुरातŒवविद्, धार्मिक गुरु र वातावरणविद्हरूको राय–सल्लाहमा काम गर्नुपर्छ ।
महत्वपूर्ण स्थलहरूको क्षेत्रमा इन्जिन गाडीको प्रवेशमा रोक लगाउनुपर्छ । सबै महत्वपूर्ण स्थलको क्षेत्रको सीमामा कम्तीमा एक घण्टा पैदल यात्रा गरेर मात्र पुग्न सकिने व्यवस्था गर्नुपर्छ । साइकल, घोडा वा पैदल यात्रालाई प्रोत्साहन गर्नुपर्छ । गाडी नलगी नहुने अत्यावश्यक कामका लागि गाडी लैजान छुट दिने हो भने तोकिएको प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउने गरी पारदर्शी र निष्पक्ष व्यवस्था गर्नुपर्छ । हर्न पूर्ण निषेध गर्नुपर्छ र गति सीमालाई १० किलोमिटरमा सीमित राखिनुपर्छ ।
पार्किङ स्थल, गेस्ट हाउस र होटलहरू एक घण्टाको दूरीमा मात्र राखिनुपर्छ । इन्टरनेट र मोबाइल नेटवर्कलाई महत्वपूर्ण स्थल क्षेत्रमा नियन्त्रित गरिनुपर्छ । बाटोमा नकुहिने फोहोर जम्मा गर्ने टोकरीहरू राखिनुपर्छ । सार्वजनिक जग्गा अतिक्रमण हटाइनुपर्छ । वन्यजन्तु र चराचुरुंगीको सिकारलाई कडाइका साथ रोक्नुपर्छ । भोतभजेर गर्न रोक लगाउनुपर्छ । हचुवाका भरमा मूर्ति र संरचना थप्ने तथा मन्दिरसँगै निजी घरटहरा थप्ने, अग्लो बनाउने कार्य रोक्ने मात्र होइन, पुराना भत्काउनुपर्छ ।
चोरी, पकेटमारीका घटना नियन्त्रण गर्न शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ । जताबाट पनि जान र आउन सक्ने गरी खोलिएका बाटाहरू बन्द गरेर सौन्दर्य, विपद् जोखिम न्यूनीकरण, पर्यटकीय महत्व र सुरक्षा चुनौती सामान गर्न अनुकूल हुने गरी मात्र प्रवेश मार्गहरूको व्यवस्था गर्नुपर्छ ।
अन्त्यमा, मानिसहरूका लागि धार्मिक, पर्यटकीय र मनोरम स्थलमा तुरुन्तै पुगेर छोएर आउने सुविधा दिने ढंगले होइन, केही घण्टा भए पनि अरू कुरा बिर्सेर मस्तिष्कलाई शून्यमा झार्ने गरी बिताउने वातावरण सिर्जना गर्नुपर्छ । पर्यटकबाट भएको आम्दानीले सीमित टाठाबाठाले जायज–नाजायज फाइदा लिने होइन, वरिपरिका सम्पूर्ण सर्वसाधारणले न्यायोचित लाभ पाउने अवस्था सिर्जना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्