कालिगण्डकी जलविद्युत् केन्द्रको भल्भ र युनिट मर्मत सुरु «

कालिगण्डकी जलविद्युत् केन्द्रको भल्भ र युनिट मर्मत सुरु

काठमाडौं-१४४ मेगावाटको कालिगण्डकी ए जलविद्युत् केन्द्रको विद्युत्गृहमा रहेको इन्लेट भल्ब तथा युनिट–२ को मर्मतकार्य सुरु भएको छ ।
वर्षाको समयमा विद्युत् उत्पादन बढी भएको बेलामा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वको रहेको समस्याग्रस्त विद्युत्गृहको भल्ब र युनिट–२ को गृह मर्मत सुरु गरिएको हो । आयोजना निर्माणका बेला डिजाइन त्रुटिका कारण भल्बमा देखिएको पानी चुहिनेलगायतका समस्याबाट विद्युत्गृहमा आउनसक्ने सम्भावित दुर्घटना टार्न र ठूलो विद्युत्गृह हिउँदमा बन्द गर्नुपर्ने अवस्था आउन नदिन मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ । सोमबारबाट सुरु भएको मर्मत १२ कात्तिकभित्रमा सक्ने लक्ष्य छ ।
डिजाइनमा त्रुटि देखिएपछि सामान निर्माता तथा आपूर्तिकर्ता जापानिज कम्पनी तोसिवाले मर्मत निःशुल्क गर्ने प्रतिबद्धता जनाएको थियो । कम्पनीले निःशुल्क मर्मतका लागि दिएको अन्तिम पटकको म्याद १४ असोजमा सकिँदैछ । “विद्युत्गृह बन्द हुँदा करिब साढे तीन अर्ब आम्दानी गुमाइरहेका छौं, एक दिन अगाडि काम सकियो भने त्यो आम्दानी नगुम्ने भएकाले सोहीअनुसार काम गर्नुहोस्,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्र प्रमुखलगायत मर्मतमा संलग्न प्राविधिकलाई निर्देशन दिँदै भने ।
मर्मतमा तोसिवाका र प्राधिकरणका प्राविधिक खटिएका छन् । केन्द्र प्रमुख राजेशकुमार पाण्डयले तोकिएको समयभन्दा एक दिन भए पनि अगाडि सक्ने गरी काम भइरहेको जानकारी दिए । केन्द्रमा ४८÷४८ मेगावाटका तीन युनिट छन् । समस्यामा देखिएको भल्ब खोल्नका लागि बिहीबारसम्म केन्द्रबाट विद्युत् उत्पादन बन्द हुनेछ । त्यसपछि २५ दिनसम्म मर्मत गर्ने एक युनिट ४८ मेगावाट मात्रै बन्द रहने छ । युनिट– २ को मर्मत सकिएपछि तीनवटै युनिट चलाउनका लागि सात दिन विद्युत् उत्पादन पूर्णरूपमा बन्द रहने प्राधिकरणले जनाएको छ । निर्माणका बेला भएको डिजाइन त्रुटिका कारण मर्मतका लागि ६ किलोमिटर सुरुङको पानी सुकाउनु बाध्यता छ । यसले पानी हटाउन र काम सकिएपछि सुरुङमा पानी भर्न समय लाग्दा मर्मतमा बढी समय लागेको हो ।
दसंैमा उद्योग कलकारखाना बन्द हुँदा विद्युत्को माग काम हुने र अन्य विद्युत्गृह पनि पूर्ण क्षमतामा चलाउन सकिने भएकाले अहिले मर्मतका लागि उपयुक्त समय भएको घिसिङले बताए । “हिउँदामा विद्युतको माग बढी हुन्थ्यो, कालिगण्डकीबाट विद्युत् आपूर्ति हुने नारायणघाट पश्चिम र पोखरा क्षेत्रमा १५ घण्टाभन्दा बढी लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्थ्यो,” उनले भने । कालिगण्डकी अर्धजलाशययुक्त आयोजना भएकाले हिउँदमा बढी विद्युत् माग हुने पिक समयमा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तथा सञ्चालकहरू उमेशप्रसाद थानी, चन्द्र टण्डन, चेतराज जोशी तथा भक्तबहादुर पुनले विद्युत्गृहको स्थलगत निरीक्षण गरी तोकिएको समयभन्दा अघि नै मर्मत सक्न निर्देशन दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सञ्चालनमा रहेको ठूलो विद्युत्गृहको काम छिट्टो सक्ने निर्देशन दिएपछि प्राधिकरणको उच्चस्तरीय टोली कालिगण्डकी विद्युत्गृहमा भइरहेको कामको निरीक्षणमा गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्