अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति तानातान

नेपालमा उत्पादन नभए पनि आयात र बिक्री वितरण उत्साहजनक रूपमा हुँदै आएको अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्तिको चरम अभाव देखिएको छ । यसले भएका दक्ष जनशक्तिलाई आफ्नो कम्पनीमा भित्र्याउने होड नै चलेको छ । अटोमोबाइल क्षेत्रमा नयाँ–नयाँ ब्रान्ड भित्रिइरहेकाले उक्त कम्पनीका लागि दक्ष जनशक्ति चाहिनु स्वभाविक हो । पछिल्लो दुई वर्षमा नेपालमा करिब एक दर्जन नयाँ ब्रान्डका सवारी भित्रिएका छन् । यसले अवसरको सिर्जना गरे पनि यसभन्दा बढी अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो डेढ वर्षको बीचमा अधिकांश कम्पनीका म्यानेजर तहका कर्मचारीहरू नयाँ खुलेका वा अन्य प्रतिस्पर्धी कम्पनीमा गएको पाइन्छ । यस्तोमा नयाँले अवसर पाउने तथा फड्को मार्नेहरूका लागि लाभदायक नै हुन्छ । तर यो क्षेत्रमा दक्ष जनशक्ति अभाव भएको र कम्पनीहरूले क्षति बेहोर्नु परिरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । केही वर्षयता अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्तिको तानातान नै देखिएको नाडाका सदस्य तथा नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बरालले बताए । “प्रतिस्पर्धाले दक्ष जनशक्तिमाझ अवसर त पक्कै ल्याएको छ तर अनुबन्धित कर्मचारीहरू निश्चित समयसम्म नबस्दा कम्पनीको रणनीति बाहिरिनेजस्ता समस्या निम्तिएका छन्,” बरालले भने, “दक्ष जनशक्ति अभावले यस्तो बिकराल अवस्था आएको हो ।”
कम्पनी सञ्चालनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले नयाँ ब्रान्ड आउँदा उनीहरूले पुरानै कम्पनीहरूबाट ट्रेन्ड म्यानपावर आकर्षित गर्ने गरेको पाइएको छ । यसले पछिल्लो समय नेपाली अटो व्यवसायमा दक्ष जनशक्तिको अभाव देखिएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सदस्य तथा आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीको भनाइ छ । “नयाँ कम्पनीहरू आउनुले अवसरको सिर्जना पक्कै गरेको हुन्छ,” उनले भने, “छोटो समयमा कम्पनी परिवर्तन गर्नुपर्ने अवस्था आउँदा दक्ष जनशक्ति अभाव रहेका देखाउँछ भने अर्कोतिर कम्पनीले ऊमाथि गरेको लगानी खेर जाने अवस्था आएको छ ।” यसको अर्थ एउटा कम्पनीमा काम गर्ने व्यक्ति अर्को कम्पनीमा जानै हुन्न अथवा पाइँदैन भन्न नखोजिएको उनको भनाइ छ । नेपालमा सवारीसाधनको बिक्री बढेसंगै नयाँ–नयाँ कम्पनीहरू आउने क्रमपनि बढेकाले यस्तो अवस्था आएको व्यवसायीहरू बताउँछन् ।
टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रोडक्ट इन्चार्ज दिपकराज गिरी एमएडब्लू इन्टरप्राइजेजमा केही महिना अघिमात्र एजीएम भएर गएका थिए । एमएडब्लू इन्टरप्राइजेज यामाहा मोटरसाइकल तथा स्कोडा गाडीको आधिकारिक बिक्रेता हो । यस्ते, पवनसिंह भन्डारी सुजुकीमा शोरुम इन्चार्ज थिए उनी किया हुँदै अहिले फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल पुगेका छन् । बजाज कम्पनीका डेपुटी जीएम भएका चिरञ्जीवि शाह सुजुकी टु ह्वीलर्समा सीईओ भएर गएका छन् ।
यस्तै, सिप्रदीमै कार्यरत सुशिल सुवेदी अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्समा पुगे । आइसर गाडीको आधिकारिक विक्रेता इस्टर्न मोटर्सबाट सुरज भट्टराई आईएमई मोटर्समा गए भने सिप्रदीका काशिराम तिवारी मान ट्रकमा प्रवेश गरेका छन् । इस्टर्न मोटर्सबाट श्याम यादव भारतबेन्ज गाडीको विक्रेता ओम्नी ट्रकिङमा गएका हुन् । यो त म्यानेजर तहका अधिकारीहरूको कम्पनी परिवर्तनका उदाहरणमात्र हुन् । यसभन्दा जुनियर तहमा पनि धेरै जन शक्तिको तानातना भइरहेको छ । समान कम्पनीमा काम गरिरहँदा १० वर्षपछि प्राप्त हुने पद कम्पनी बदल्दा तत्काल पाइने कुराले आकर्षित गरेको छ ।
काम गर्ने हरेकले आफ्नो व्यक्तित्व विकासका लागि स्वभाविक रूपमा आएर अफरहरू स्वीकारेर कम्पनी बदल्नु स्वभाविक भएको नाडा अटोमोबाइल एसोसिएसनका महासचिव कृष्णप्रसाद दुलाल बताउँछन् । “व्यक्तिगत रूपमा कम्पनीसँग भए-गरेका सम्झौता तोड्नु भएन,” उनले भने, “सम्बन्धित कम्पनीको रणनीति बाहिरिनु भएन र गोपनीयता भंग गर्नु भएन ।”
एक कम्पनीबाट अर्को कम्पनीमा सँगसँगै आफ्नै डिलरका कर्मचारीलाई समेत डिष्ट्रिब्युटरले तान्न थालेका छन् । डिलरहरू डिस्ट्रिब्युटरका लागि जनशक्ति उत्पादनको स्रोत केन्द्र जस्तै बनेको डिलरहरूले गुनासो गर्दै आएका छन् । अटो क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले यस बारेमा निश्चित मापदण्ड बनाउनुपर्ने व्यवसायीहरूको भनाइ छ । तर, नाडाले भने उक्त विषयमा अनविज्ञता प्रकट गरेको छ ।