क्यान्सरको मुख्य कारक खानपिन «

क्यान्सरको मुख्य कारक खानपिन

क्यान्सर सतर्कता दिवस आज
चितवन-बेलैमा पहिचान हुन नसक्दा क्यान्सर रोग निदानमा समस्या हुने गरेको छ । रोग लागेपनि बेलैमा पहिचान नहुँदा रोग जटिल बन्दा उपचारमा खर्च धेरै लाग्ने तथा निको हुन कठिन हुने गरेका छन् ।
वीपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार ९५ प्रतिशत क्यान्सरका बिरामी ढिलो उपचारमा आउने गरेका छन् । “लक्षण देखिन थालेपछि बल्ल उपचारमा आउदा निकै ढिलो भैसकेको हुन्छ,” उनले भने, “बेलाबखत क्यान्सरको ‘स्क्रिनिङ’ भएमा रोग जटिल हुन पाउँदैन, निदान गर्न पनि सहज हुन्छ ।” समुदायमा अझै ८५ प्रतिशत क्यान्सरका बिरामी उपचारमै आएका छैनन् । “१०-१५ प्रतिशत बिरामी मात्र उपचारमा आएका छन्,” उनले भने, “स्थानीय स्वास्थ्य संस्थाबाटै क्यान्सर पहिचान गर्न सके बेलैमा सबैलाई उपचारमा ल्याउने वातावरण बन्थ्यो ।”
क्यान्सर अस्पतालले गत वर्ष ९५ स्थानमा गरेको क्यान्सर परीक्षणमा धेरै बिरामी फेला परेका थिए । “पाठेघर मुखको क्यान्सर, स्तन, मुख, घाँटी, छालाको क्यान्सर पत्ता लगाउन करिव ५ सय खर्च गरे पुग्छ,” उनले भने, “तर, लक्षण देखिन थालेपछि मात्र उपचारमा आउने प्रचलन छ, यो सुधार हुनुपर्छ ।” कलेजो, भित्रि आन्द्रा जस्ता क्यान्सर पत्ता लगाउन केही जटिल भएपनि अन्य क्यान्सर पहिचान गर्न धेरै खर्च नलागेपनि बेलाबखत परीक्षण गर्ने संस्कारनै नबसेको बताउँछन् ।
अस्पतालले गरेको समुदाय स्तरको परीक्षणमा करिव ५ सय जना नयाँ क्यान्सरका बिरामी फेला परेका थिए । विपी क्यान्सरमा गत वर्ष ४ हजार ९ सय ७५ जना क्यान्सरका नयाँ बिरामी फेला परेका थिए । समुदाय स्तरमा ४ हजार १ सय ६० जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा २८ जनामा क्यान्सर पहिचान भएको थियो । यस्तै ४ हजार ४ सय ६० जनामा गरीएको परीक्षणमा ६३ जना, मुख, घाँटीको परीक्षणमा २ सय जनामा क्यान्सर फेला परेको थियो । अस्पतालले ५४ जिल्लाका करिव ४ हजार स्वास्थ्यकर्मीलाई क्यान्सर सचेतनाबारे तालिम दिएको छ । यस्तै ३६ जिल्लाका सामुदायिक विद्यालयका शिक्षक, ९ र १० पढ्ने विद्यार्थीलाई क्यान्सर रोग रोकथामबारे सचेतना कक्षा दिएको छ ।
विपी क्यान्सर अस्पतालमा सन् २०१७ मा ८ हजार ७ सय ७४ क्यान्सरका बिरामी भर्ना भएका थिए । अस्पतालको बहिरंग विभागबाट १ लाख २५ हजार ४१ जनाले सेवा लिएका थिए । सन् २०१६ मा ४ हजार ५ सय ४८, सन् २०१५ मा ५ हजार ४ जना, सन् २०१४ मा ४ हजार ५ सय ९९ जना, सन् २०१३ मा ४ हजार ६ सय ९० जना क्यान्सरका बिरामी भर्ना भएका थिए । “नेपालमा करिव ३५ हजार क्यान्सरका नयाँ बिरामी फेला पर्छन्,” उनले भने, “केही निको हुन्छन्, कोही क्यान्सरको उपचार गर्दै बाँचिरहेका छन्, कोहीले ज्यान गुमाउँछन् ।” संसारमा क्यान्सरका बिरामी वर्षेनी बढ्ने क्रममा रहेकाले भयावह स्थिति आउन नदिन बेलैमा सचेतनामूलक कार्यक्रम र जीवनशैलीमा सुधार गर्नुपर्ने उनको भनाई छ । “अस्वस्थकर खानपीनका कारण झण्डै ९० प्रतिशतलाई क्यान्सर लाग्छ,” उनले भने, “चुरोट, सूर्तिजन्य पदार्थ, अल्कोहल सेवन छाड्नुपर्छ, नियमित व्यायममा ध्यान दिनुपर्छ ।”
अस्पतालको सन् २०१७ को तथ्यांक अनुसार सबैभन्दा धेरै फोक्सोको क्यान्सरका नयाँ बिरामी पहिचान भएका छन् । ५ सय ७४ जना फोक्सो, ५ सय ४४ जना पाठेघरको मुखको क्यान्सर, ४ सय ९६ जना स्तन क्यान्सरका बिरामी उपचारमा आएका थिए । विपी मेमोरियल क्यान्सर अस्पतालका निर्देशक विजयचन्द्र आचार्यले अस्पतालले क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिरहेको बताउँछन् । “क्यान्सर रोगको उपचार खर्चिलो छ, रोग लागेपछि आर्थिक समस्या र मानसीक पीडा बढ्छ,” उनले भने, “बेलैमा उपचार ल्याउन सके भयावह स्थिति आउने अवस्था रोक्न सकिन्छ, समुदायस्तरमा जनचेतना फैलाउन जरुरी छ ।” उनले अस्पतालमा शैया तथा अत्याधुनिक उपकरण थप भएकाले सहजै सेवा पाउने अवस्था बनेको बताए । “विपन्न बिरामीलाई १ लाख बराबरको सुहलियत दिएका छौँ,” उनले भने, “बेलैमा उपचारमा आए कम खर्चमै रोग निको बनाउन सकिन्छ ।” उनले अस्पतालले ढिलो नगरी उपचार दिने बताए । “२ सय ५० शैया थप भएका छन्, जनशक्ति पनि थप भएका छन्,” उनले भने, “अप्रेशन कक्ष पनि थप्ने क्रममै छौँ, अन्य अस्पताल रिफर गर्ने अवस्था छैन, समयमै उपचार दिन प्रतिवद्ध छौँ ।” भदौ देखि अस्पतालको १ सय ९४ शैया विस्तार गरेर ४ सय ४४ शैया पु-याइएको छ ।

प्रतिक्रिया दिनुहोस्