‘जोखिम कम गर्न व्यवसायको विविधिकरण गर्नुस्’ «

‘जोखिम कम गर्न व्यवसायको विविधिकरण गर्नुस्’

बिमकलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायको विविधिकरण गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिमा कम्पनीहरु एउटामात्र क्षेत्रमा केन्द्रित हुँदा जोखिम बढेको भन्दै यसलाई कम गर्नका लागि व्यवसाय अन्य क्षेत्रमा पनि विस्तार गर्न उनले निर्देशन दिएका हुन् ।
“नेपालमा निर्जिवन बिमा कम्पनीको व्यवसाय ५२ प्रतिशत मोटर बिमामा मात्र छ,” मंगलबार अन्तर्राष्ट्रिय बिमा सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, “एउटै क्षेत्रमा केन्द्रित हुँदा जोखिम बढी हुन्छ, व्यवसायलाई विविधिरण गर्नुहोस् ।” नेपाली बिमा कम्पनीहरुले व्यवसाय घर, हाउजिङ तथा अपार्टमेन्ट, उद्योग कृषिलगायतका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने उनको जोड थियो ।
अर्थमन्त्री खतिवडाले बिमा कम्पनीहरुको सेवा परम्परागत भएको र यसबाट बिमा गर्ने र दावी भुक्तानी लिने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै यसलाई आधुनिक प्रविधि अनुसार सुधार गर्नसमेत उनले निर्देशन दिए । “प्रविधिको प्रयोग गरेर बिमा गर्न र दावी भुक्तानी लिने प्रक्रियालाई सरलिकृत गर्नुपर्छ” उनले भने, “यसबाट मात्र बिमा क्षेत्रमा सर्वसाधारणलाई आकर्षित गर्न सकिन्छ ।”
विकासोन्मुख देशमा बिमाको पहुँच विस्तारका लागि लघुबिमा कार्यक्रम अन्यन्तै प्रभावकारी हुने भन्दै यसतर्फ केन्द्रीत हुन समेत बिमा कम्पनीहरुलाई आग्रह गरे । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएको भन्दै यसलाई विस्तारै गर्दै लैजाने समेत उनले जानकारी दिए ।
बिमा समिति र नेपाल बिमक संघको संयुक्त आयोजनामा वित्तिय सुदृढिकरण : विपत् जोखिम वित्तीय व्यवस्थापन र बिमा’ भन्ने नाराका साथ सुरु भएको विकासशील देशहरुका नियमनकारी निकाय र बिमा कम्पनीहरुको संगठन एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआइआरडिसी) को २१ औं सम्मेलन बुधबारसम्म चल्नेछ ।
सम्मेलनमा एआइआरडिसका अध्यक्ष यासिर अल्वाहर्नले विकासकोन्मुख देशहरुमा बिमा नियामक र कम्पनीहरुको समान समस्या रहेको र यसलाई साझा रुपमा समाधान गर्नका लागि संगठित भएको बताए । विकासोन्मुख देशमा मानवसिर्जित तथा प्राकृतिक विपत्तिपछिको जोखिम उत्तिकै रहेको र विपत्तिपछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनीकरण गर्ने विषयमा एकअर्काको अनुभव प्रभावकारी हुने बताए ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले प्राकृतिक विपत्तिपछिको बिमा क्षति न्यूनीकरणका लागि सम्मेलनमा महत्वपूर्ण छलफल हुने बताए । नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले विकासशिल मुलुकहरुमा बिमा व्यवसायको वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सम्मेलनअन्र्तगत पहिलो सत्रमा प्राकृतिक विपत्ति, जोखिम व्यवस्थापन विषयमा विभिन्न देशका विज्ञहरुले अनुभव राखेका थिए । छलफलमा सहभागी हुदैं बिमा समितिका सल्लाहकार भोजराज शर्माले नेपालमा भूकम्पीय जोखिम उच्च प्राकृतिक जोखिम रहेको र यसमा बिमा कम्पनीहरु सक्षम रहेको अनुभव सुनाए ।
सम्मेलनमा २० देशका १५० भन्दा बढी अन्तर्राष्ट्रिय व्यक्तिहरुसहित पाँच सयभन्दा बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्