नेपालको इन्जिनियरिङ शिक्षा «

नेपालको इन्जिनियरिङ शिक्षा

नेकले सामना गरेको सबैभन्दा पछिल्लो चुनौती भनेको यस कलेजका संस्थापकहरूबीच हालसालै बढेको आपसी असमझदारी हो ।

हेर्दाहेर्दै नेपाल इन्जिनियरिङ कलेज (नेक) स्थापना भएको २४ वर्ष पूरा भई २५ औं वर्षमा प्रवेश गरेको छ । ‘नेपालमा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ शिक्षा सम्भव नै छैन’ भन्ने खालको धारणा नेपालका शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूमाझ व्याप्त रहेको समयमा असम्भवलाई सम्भव पारेर देखाउने आँट सबभन्दा पहिले नेपाल इन्जिनियरिङ कलेज (नेक) का सात जना संस्थापकहरूले २०५१ सालमा गरे । त्यो आँटलाई मूर्त रूप दिने काम नेकलाई विश्वास गरी भर्ना हुन आउने पहिलो भर्ना ब्याचका विद्यार्थी रहे । नेकको भविष्यमा प्रश्नचिह्न लागेका बेला आफ्नो पेसालाई दाउमा राखी पढाउन आउने शिक्षक र शिक्षिकाले गरे ।
प्रारम्भमा नेकले कैयौं कठिनाइ सामना ग¥यो । विश्वासको संकतले अभिभावक तथा शिक्षाविद्हरूलाई नेकमा गुणस्तरीय पढाई हुने कुरामा शंका थियो । अध्यापनको तरिका फरक हुँदा नेकमा पढेका विद्यार्थीको परिणाम अपेक्षाकृत न्यून हुने सम्भावना प्रबल थियो । यति हुँदाहुँदै पनि नेकका विद्यार्थी पहिलो सत्रको परीक्षादेखि नै विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भएका थिए र पहिलो भर्ना ब्याचमै त्रिभुवन विश्वविद्यालयभरिका इन्जिनियरिङतर्फका महिला विद्यार्थीमध्ये सर्वोत्कृष्ट परिणाम ल्याउन सफल भए । विगत २४ वर्षमा यस कलेजबाट ७ हजारको हाराहारीमा दक्ष प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् ।
नेक सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक स्रोत विद्यार्थीले तिर्ने पढाइ शुल्क मात्र हो । यति हुँदाहुँदै पनि आफ्नो सामाजिक दायित्वलाई महसुस गरी नेकले प्रारम्भदेखि नै विभिन्न खालका छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ । नेपाल सरकारको कुनै लगानीबिना कलेज वरिपरिका क्षेत्रहरूबाट मात्र हालसम्ममा तीन सय जना छात्रवृत्तिमा अध्ययन पूरा गरी देशका विभिन्न निकायहरूमा कार्यरत छन् । सन् २००३ देखि २००५ सम्म विद्यार्थी भर्नामा आएको कमी र त्यसको प्रत्यक्ष परिणामस्वरूप बढ्दै गएको आर्थिक भारका बाबजुद कुनै पनि शिक्षक कर्मचारीलाई अवकाश नदिई विद्यार्थी भर्ना संख्यामा आएको ह्रासबाट शिक्षकहरूमा आउन सक्ने नैराश्यतालाई ध्यानमा राखी शिक्षकहरूलाई कलेजकै खर्चमा उच्च अध्ययनका लागि विभिन्न विश्वविद्यालयमा पठाए ।
नेकको अहिलेको एउटा ठूलो चुनौती आर्थिक व्यवस्थापन हो । विद्यार्थीबाट उठाएको सीमित शुल्कबाट शिक्षक तथा विद्यार्थीको बढ्दो अभिलाशा पूरा गर्न सम्भव छैन । बजारका निर्माण र परामर्श कम्पनी तथा सरकारी र गैरसरकारी संस्थाहरूमा इन्जिनियरहरूको पारिश्रमिक तथा सुविधाहरू बढेको छ, जसले गर्दा उच्च गुणस्तरका दक्ष अनुभवी शिक्षकहरूको सेवा कलेजले लिइराख्न उनीहरूको पारिश्रमिक तथा सुविधाहरू बढाउनुपर्ने हुन्छ । शैक्षिक सामग्रीहरू, प्रयोगशालाका उपकरणहरू तथा खेलकुदका सामानहरूको मूल्यमा भएको वृद्धि, विश्वविद्यालयले सम्बन्धन तथा परीक्षा शुल्कमा गरेको वृद्धि, दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्दिको कारण कर्मचारी तथा शिक्षकहरूले अपेक्षा गर्ने पारिश्रमिक वृद्धिले गर्दा कलेज सञ्चालन खर्च बढ्नु स्वाभाविक छ । कलेजको सामाजिक दायित्व बोध गरी विभिन्न संघ–संस्थाले थरीथरीका सामाजिक तथा अन्य गैरशैक्षिक क्रियाकलापहरूका लागि कलेजसँग गर्ने आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा अत्यधिक बढेको छ । त्यसमाथि गैरसरकारी क्षेत्रमा सञ्चालित कलेजहरूले नेपालको शिक्षा विकासमा गरेको योगदानलाई चटक्कै बेवास्ता गरी मुनाफारहित ढंगले सञ्चालित कलेजहरूलाई आर्थिक तथा शोधकार्यहरूमा सहयोग गर्नुको साटो उल्टो नेपाल सरकारले शिक्षा शुल्क तथा कलेजको आफ्नै खर्चमा थप छात्रवृत्ति दिनुपर्ने प्रावधान राखेका छन् । इन्जिनियरिङ उच्च शिक्षालाई सकेसम्म सर्वसाधारणको सरल पहुँचमा पु¥याउन स्थापित संस्थाहरूले कलेजले विद्यार्थीहरूसँग लिने शुक्लमा वृद्धि नगर्न र अझ सके घटाउन दबाब दिँदै आएका छन् । शिक्षामा बढ्दो राजनीतीकरण नेकले सामना गर्दै आएको चुनौतीको अर्को महत्वपूर्ण आयाम हो ।

राजनीतिक पार्टीका नेता र विद्यार्थी तथा कर्मचारी नेताहरूबीचको आवश्यकताभन्दा बढी घनिष्ठ सम्बन्ध र त्यसले निम्त्याउने अराजकताको सिकार नेपालका सबै इन्जिनियरिङ कलेजहरू हुँदैछन् ।

नेकले सामना गरेको सबैभन्दा पछिल्लो चुनौती भनेको यस कलेजका संस्थापकहरूबीच हालसालै बढेको आपसी असमझदारी हो, तर यस विवादका बीचमा पनि कलेज सामान्य रूपले सञ्चालन हुनुबाट कलेजको स्थिरतालाई संकेत गर्छ । सीमित आर्थिक स्रोतभित्र बसी पारिश्रमिक तथा सुविधा बढाउनुपर्ने र शुल्क बढाउन नहुने खालका विरोधाभासपूर्ण दबाबहरू हुँदाहुँदै पनि बजारको वास्तविकताको सही मूल्यांकनका साथ गुणस्तरीय प्राविधिक शिक्षाको विभिन्न आयाममा आएका चुनौतीहरूको सामना गरी नेपालमा उच्च गुणस्तरको इन्जिनियरिङ उच्चशिक्षाको क्षेत्रमा अगुवाको भूमिका नेपाल इन्जिनिरिङ कलेजले खेल्दै आएको छ ।
नेपालमा इन्जिनियरिङ उच्चशिक्षासँग सम्बन्धित व्यक्तिहरूलाई यस क्षेत्रमा नेकको भूमिकाबारे खासै व्याख्याको जरुरत छैन । गैरसरकारी क्षेत्रमा प्राविधिक उच्चशिक्षा सम्भव नै नभएको विचारको बोलवाला भएको समयमा उक्त विचारलाई सधैंका निम्ति नेकले परास्त पारेको हो । नेकको सफलताबाट प्रेरणा लिएर नेक स्थापनाको चार वर्षपश्चात् निजी लगानीका अन्य कलेजहरू नेपालमा स्थापित भएका हुन् । हाल नेपालमा सञ्चालित चार दर्जनभन्दा बढी इन्जिनियरिङ कलेजहरूको अगुवा नेक हो । आफूलाई अध्ययन–अध्यापनमा मात्र सिमित नराखी प्राविधिक शिक्षाको समग्र विकासका लागि प्राविधिक जर्नलहरू प्रकाशित गर्नुपर्ने महसुस गरी नेकले साइटेक नेपाल नामक प्राविधिक जर्नल सन् १९९५ देखि लगातार अर्धवार्षिक रूपमा प्रकाशन गर्दै आएको छ । विद्यार्थीहरूले स्थानीय मात्र नभई विदेशी शिक्षकहरूबाट पनि ज्ञान तथा अनुभव हासिल गर्दा ती विद्यार्थीहरूको दृष्टिकोण फराकिलो हुने भएकाले यस कलेजले सन् १९९६ देखि लगातार रूपमा विदेशी शिक्षकहरूले सेवा लिँदै आएको छ । प्राविधिक ज्ञान फैलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गोष्ठीहरू अपरिहार्य हुने भएकाले यस कलेजले सन् १९९५ देखि हरेक वर्ष यस प्रकारका गोष्ठीको आयोजना गर्दै आएको छ र ती गोष्ठीहरूबाट प्राप्त ज्ञानमा सबैको सहज पहुँच होस् भनी गोष्ठी–पुस्तकहरू तथा कलेजले बेलाबेलामा प्रकाशन गरेका अन्य शैक्षिक सामग्रीहरू कलेजको वेबसाइटमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय स्तरका शोधकार्यहरू इन्जिनियरिङ शिक्षाको वास्तविक विकासका लागि नभइनहुने आयाम भएकाले नेकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था तथा विश्वविद्यालयहरूसँग सहकार्य गरी शोधकार्यहरू सञ्चालन गरिराखेका छन् । नेकको सञ्चालन प्रक्रियाको सूक्ष्म विश्लेषणपश्चात् अधिकार प्राप्त अन्तर्राष्ट्रिय निकायले यस कलेजलाई आईएसओको प्रमाणपत्र प्रदान गरेको छ । त्यस्तै, नेकले प्रदान गर्ने शिक्षाको गुणस्तरलाई वर्षौंसम्म मूल्यांकन तथा अनुगमन गरी नेपाल सरकारको नेपाल इन्जिनियरिङ काउन्सिलले यस कलेजमा सञ्चालित विभिन्न कार्यक्रमलाई स्थायी स्वीकृति प्रदान गरेको छ । नेकमा अध्ययन गरी त्रिवि (त्रिभुवन विश्वविद्यालय) र पोवि (पोखरा विश्वविद्यालय) बाट स्नातक तथा स्नातकोत्तर उपाधि हासिल गरी नेकका हजारौं भूतपूर्व विद्यार्थीहरू नेपालका अतिरिक्त पूर्वमा जापान र अस्ट्रेलियादेखि पश्चिममा बेलायत, क्यानडा र अमेरिकासम्म उच्च अध्ययन तथा प्राविधिक सेवामा व्यस्त छन् । नेपाल सरकारको कुनै लगानीबिना स्थापित र सञ्चालित नेकका विद्यार्थीहरूले देखाएको सफलताबाट नेपालमा इन्जिनियरिङ शिक्षाको विकासमा नेकको भूमिका प्रस्ट हुन्छ ।
(लेखक प्रा.डा. प्रा. डा. हरिकृष्ण श्रेष्ठ नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्