बिर्तामोडमा चार लेनको सडक निर्माण हुँदै «

बिर्तामोडमा चार लेनको सडक निर्माण हुँदै

झापा-झापामा पहिलो पटक चार लेनको सडक निर्माण सुरु भएको छ । बिर्तामोड–भद्रपुर सडक चार लेन हुने भएको हो । ठेक्का लाग्ने तर काम नहुने समस्याका कारण सडक निर्माण हुन सकेको थिएन ।
सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको पहलमा ४ किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम सुरु भएको छ । २७ करोड रुपैयाँको लागतमा उक्त सडकको स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले बताए । सडक २०७६ साल पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्केदार राजकिशोर गुप्तालाई ठेक्का दिइएको जनाइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सडककोे काम सुरु भएसँगै अब विकासका कामले गति लिन थालेको बताए । सडक फराकिलो पार्ने काममा सबैलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत २.८ किमि क्षेत्रफललाई चार लेनको बनाइने र बाँकीलाई दुई लेन फराकिलो बनाइने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर पौडेलले बताए ।
सडक निर्माणको जिम्मा पाएको आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताए । “समय र गुणस्तरमा सम्झौता गर्दैनौ,” ठेकेदार गुप्ताले भने, “खानेपानीको पाइप, बिजुली र टेलिफोनको पोल मुख्य समस्या हो, त्यो समस्या आउन नदिए काम गुणस्तरीय हुनुका साथै सम्झौता भएको समयमा सकिन्छ ।”
नेपाल विद्युत् प्राधिकरण बिर्तामोडका प्रमुख दिपेन्द्रकुमार झाले निर्माणाधीन सडकको पोल सार्न ७७ लाख रुपैयाँ खर्च लाग्ने बताए । उनले सडक र नालाको बीचमा पोल गाड्ने व्यवस्था गरिएको जानकारी दिए ।
बिर्तामोड साना सहरी तथा खानेपानी आयोजनाका अध्यक्ष जलकुमार गुरुङले सडक विस्तारमा खानेपानी बाधक नबन्ने बताए उनले भने, “दुई महिनाभित्र खानेपानीको पाइप व्यवस्थित गरिसक्ने नगरको विकासका लागि हामी बाधक बन्दैनौं ।”

प्रतिक्रिया दिनुहोस्