ब्राजिलसँग पराजित भएपछि चिलीको विश्वकप सपना अधुरै «

ब्राजिलसँग पराजित भएपछि चिलीको विश्वकप सपना अधुरै

काठमाडौं, २५ असोज । दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई फुटबल महारथी ब्राजिलले हराएको छ । विश्कप छनौट अन्र्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटको अन्तिम खेलमा ब्राजिलसँग ३–० को पराजय भोगेपछि चिली आगामी बर्ष रुसमा हुने विश्वकपमा छनौट हुनबाट चुकेको छ । ब्राजिलसँग पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना अधुरै रहेको हो ।

चिलीलाई प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिएपनि मार्चमै विश्वकपमा स्थान बनाएको ब्राजिलसँग चिली निरिह बनेको थियो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ५७ औं मिनेटमा नेयमारको पासमा गाब्रियल जेसुसले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । इन्जुरी समयमा जेसुसले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

 यही हारले चिली विश्वकप सपना टुटेको हो । कोलम्बियासँग १–१ को बराबरी खेलेको पेरु गोल अन्तरमा अघि रहँदै पाँचौं स्थानमा रहेर प्ले–अफमा स्थान बनाउन सफल भयो ।

पेरु र चिलीको समान २६ अंक भएपनि गोल अन्तरमा पेरु अघि छ । पेरुले विश्वकप छनौटका १८ खेलमा २७ गोल गर्‍यो भने २६ गोल खायो । तर, चिलीले २६ गोल गर्‍यो र २७ गोल खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्