अलैंची भित्र्याउने चटारो «

अलैंची भित्र्याउने चटारो

तेह्रथुम-पूर्वी पहाडी जिल्लाका किसानलाई कालो सुनको नामले परिचित अलैंची भित्र्याउने चटारो सुरु भएको छ । किसानले लगाएको अलैंची निकाल्ने बेला भएकाले चटारो सुरु भएको हो । नजिकिँदै गरेको ठूला चाडपर्वका लागि खर्च जुटाउनसमेत किसानले अलैंची निकालेर बिक्री गर्ने गरेका छन् ।
विगतका वर्षहरूमा अलैंचीको मूल्यमा गिरावट आए पनि यसवर्ष राम्रो मूल्य पाउने आशामा किसानहरू धमाधम अलैंची भिœयाइरहेका छन् । तेह्रथुमको धेरैजसो क्षेत्रमा किसानले अलैंची खेती गर्दै आएका छन । यहाँका किसानको जीउनस्तर उकास्ने एक मात्रै नगदेबालीका रुपमा अलैंची खेती परिचित छ । अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा लिइएको अलैंची पाकेसँगै किसानहरू बगानमा ब्यस्त बन्दै आएको छथर–२ का हेमप्रसाद लिम्बुले बताए ।
लिम्बुको बगानमा दैनिक ५ देखि ७ जना अलैंची टिप्ने कामदार सक्रियताका साथ काम गरिरहेका छन् । लिम्बूको जस्तै छथर–६ का टेकराज लिम्बुको बगानमा दैनिक कामदार अलैंची टिप्न व्यस्त बन्दै आएका छन् । विगतका वर्षमा मूल्यमा गिरावट आएसँगै निराशा बनेका किसानलाई यस वर्ष मूल्य पाउने आशा लिएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका किसान पछिल्लो समय अलैंची खेतीतर्फ आकर्षित हुँदै आएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ । मौसमले साथ दिएकाले यसवर्ष राम्रो उत्पादन हुनेमा किसान ढुक्क छन् । केही बगान रोगले सखाप भए पनि धेरैजसो किसानको बगानमा राम्रो उत्पादन भएको कृषि प्राविधिकहरूले बताएका छन् ।
किसानले दिनभर टिपेको अलैंची बेलुकी भट्टीमा सुकाउने गर्छन् । अलैंची समयमै टिप्न नभ्याउँदा जंगली जनावरले नष्ट पार्ने भएकाले पनि किसानहरू अलैंची पाक्न साथ बगानमा व्यस्त रहने गरेका छन् । परम्परागत खेतीभन्दा राम्रो आम्दानी लिँदै आएका यहाँका स्थानीयले अन्नबाली मास्दै अलैंची खेती विस्तार गर्दै आएका छन । पछिल्लो समय वैदेसिक रोजगारबाट फर्किएका युवा व्यवसायिक अलैंची खेतीलाई रोज्दै आएका छन् । फेदाप गाउँपालिका ओयाक्जुङका चन्द्र जोगीले विदेशमा कमाएको पैसाले घर नजिकै जग्गा किनेर अलैंची खेती विस्तार गरेका छन् । उनी जस्तै जिल्लाका धेरै युवाले विदेशबाट फर्किएसँगै अलैंची खेतीलाई रोज्र्दै आएका छन् ।
यहाँका किसान अलैंचीको बिरुवा बिक्रीबाटै बर्सेनि लाखौं रुपैयाँ आम्दानी लिँदै आएका छन् । यसवर्ष मात्रै अलैंचीका बिरुवा बिक्रीबाट फेदापका डिल्लीराम ढकालले २ लाख रुपैयाँ आम्दानी लिएको बताए । तेह्रथुमका किसानले ७ सय २३ हेक्टरमा अलैंची खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्